नक्कली पशु औषधिको कारोबार बढेपछि किसानलाई सचेत गराउँदै व्यवसायी

poultrymanchnepal.com

काठमाडौं । बजारमा नक्कली तथा अनधिकृत पशु औषधिको बिक्री वितरण बढ्न थालेपछि भेटेरिनरी औषधि व्यवसायी र किसानहरू चिन्तित बनेका छन्। खुला सीमाबाट हुने अनधिकृत आयात तथा भेटेरिनरी औषधिको नियमन प्रभावकारी हुन नसक्दा नक्कली औषधि बजारमा पुग्ने जोखिम बढेको व्यवसायीहरूको भनाइ छ।

यसैबीच, कान्तिपुर भेट डिस्ट्रीब्युटर्स प्रा.लि. ले नक्कली औषधिको कारोबारबाट सचेत रहन विक्रेता, किसान तथा सरोकारवालालाई सार्वजनिक सूचना जारी गरेको छ।

कम्पनीका अनुसार BioVet Joint Stock Company, Bulgaria द्वारा उत्पादित Vetmulin 80% तथा Venkateshwara Hatcheries Pvt. Ltd. द्वारा उत्पादित Vencacine 25% नामका पशु औषधिहरूको नक्कली प्याकिङ तयार गरी बजारमा अनधिकृत रूपमा बिक्री वितरण भइरहेको पाइएको छ।

कम्पनीले आफ्नो आधिकारिक वितरण प्रणालीमार्फत बिक्री हुने औषधि खरिद गर्दा विक्रेता तथा सरोकारवालाले औषधिको प्याकिङ, लेबल, स्रोत र आधिकारिकता यकिन गरेर मात्र खरिद तथा बिक्री वितरण गर्न आग्रह गरेको छ।

कान्तिपुर भेट डिस्ट्रीब्युटर्सले नक्कली वा अनधिकृत औषधि खरिद तथा बिक्री वितरणबाट उत्पन्न हुने समस्याको जिम्मेवारी सम्बन्धित खरिदकर्ता तथा बिक्रेताले नै लिनुपर्ने जनाएको छ।

व्यवसायीहरूका अनुसार समस्या एउटा कम्पनी वा केही औषधिमा मात्र सीमित छैन। खुला सीमाको फाइदा उठाउँदै विभिन्न भेटेरिनरी कम्पनीका उत्पादनहरू समेत नक्कली प्याकिङ वा अनधिकृत माध्यमबाट बजारमा पुर्‍याउने गतिविधि बढिरहेको उनीहरूको दाबी छ।

नक्कली औषधिको प्रयोगले पशुको उपचार प्रभावकारी नहुनुका साथै रोग नियन्त्रणमा थप समस्या निम्त्याउन सक्छ। औषधिको गुणस्तर र वास्तविकताबारे किसानले जानकारी नपाउँदा आर्थिक क्षति समेत व्यहोर्नुपर्ने अवस्था आउन सक्ने व्यवसायीहरू बताउँछन्।

त्यसैले पशु चिकित्सक, औषधि व्यवसायी, किसान तथा सम्बन्धित सरकारी निकायबीच समन्वय बढाउँदै भेटेरिनरी औषधिको आयात, दर्ता, बिक्री वितरण र बजार अनुगमनलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ।


प्रतिक्रिया