चितवन । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको नयाँ फार्म समर्थन मूल्य निर्धारण गरेको छ। संघले चितवनलाई आधार क्षेत्र मानी देशभरका अण्डा उत्पादक किसान तथा व्यवसायीको राय, परामर्श र सिफारिसका आधारमा नयाँ मूल्य निर्धारण गरेको जनाएको छ।
संघको २०८३ साउन २५ गते चितवनमा सम्पन्न भौतिक तथा भर्चुअल बैठकबाट गरिएको निर्णयअनुसार २०८३ साउन २६ गतेदेखि नयाँ समर्थन मूल्य लागू हुनेछ।
नयाँ मूल्यअनुसार XL अण्डाको फार्म मूल्य प्रतिक्रेट ५६० रुपैयाँ निर्धारण गरिएको छ। त्यस्तै, ठूलो अण्डा प्रतिक्रेट ५५५ रुपैयाँ र मिडियम अण्डा प्रतिक्रेट ५०० रुपैयाँ कायम गरिएको छ। सानो अण्डा भने प्रतिपेटी ३ हजार रुपैयाँ निर्धारण गरिएको संघले जनाएको छ।
संघले नयाँ समर्थन मूल्यअनुसार नै अण्डाको कारोबार गर्न व्यवसायी तथा सरोकारवालालाई आग्रह गरेको छ। संघले जारी गरेको सूचनामा उपभोक्ता मूल्य प्रतिगोटा २५ रुपैयाँ उल्लेख गरिएको छ।
पछिल्लो समय अण्डा उत्पादनमा देखिएको उतारचढाव, उत्पादन लागत तथा बजारको मागलाई ध्यानमा राख्दै अण्डाको मूल्य समायोजन गरिएको हो। अण्डा उत्पादनमा दाना, औषधि, श्रम तथा अन्य उत्पादन सामग्रीको लागत महत्वपूर्ण हुने भएकाले किसानले लागतअनुसारको मूल्य पाउनुपर्ने माग लामो समयदेखि उठ्दै आएको छ।
यसअघि पनि नेपाल लेयर्स कुखुरापालक संघले बजारको अवस्था र किसानको उत्पादन लागतलाई आधार बनाएर अण्डाको फार्म समर्थन मूल्य पटक–पटक समायोजन गर्दै आएको छ।
संघले तोकेको नयाँ मूल्यमा कारोबार गर्न तथा मूल्य कार्यान्वयनमा सहयोग गर्न सम्पूर्ण व्यवसायी, किसान तथा सरोकारवालालाई अनुरोध गरेको छ।
नेपाल लेयर्स कुखुरापालक संघका सचिव मदन पोखरेलद्वारा जारी सूचनामार्फत नयाँ मूल्य सार्वजनिक गरिएको हो।