काठमाडौं !भारतसँग जोडिएको खुला सिमानाबाट अवैध रूपमा भइरहेको पोल्ट्रीजन्य वस्तुको चोरी पैठारी नियन्त्रण गर्न नेपाल ह्याचरी उद्योग संघको टोलीले बारा र पर्सा जिल्लाका सुरक्षा निकायका प्रमुखहरूको ध्यानाकर्षण गराएको छ।
नेपाल ह्याचरी उद्योग संघको अगुवाइमा गएको टोलीले पर्साका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मोहन बस्नेत, नेपाल प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराई, बाराका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) विशाल सिलवाल तथा नेपाल प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरसँग भेटघाट तथा छलफल गर्दै अवैध पोल्ट्रीजन्य वस्तुको ओसारपसार नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेको हो।
भेटवार्ताका क्रममा भारतसँगको खुला सिमानाको दुरुपयोग गर्दै अवैध रूपमा नेपाल भित्रिने कुखुरा, चल्ला, अण्डा तथा अन्य पोल्ट्रीजन्य वस्तुको ओसारपसार नियन्त्रण गर्न सीमा क्षेत्रमा निगरानी बढाउन, नियमित अनुगमन गर्न तथा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउनुपर्ने विषयमा छलफल भएको थियो।
टोलीले अवैध रूपमा भित्रिने पोल्ट्रीजन्य वस्तुका कारण स्वदेशी ह्याचरी उद्योग, दाना उद्योग, पोल्ट्री व्यवसायी तथा किसानहरूले विभिन्न समस्या भोग्नुपरेको भन्दै यसले समग्र पोल्ट्री क्षेत्रको उत्पादन, बजार व्यवस्थापन र व्यवसायको दिगोपनामा नकारात्मक असर पार्न सक्ने विषय सुरक्षा निकायका प्रमुखहरूलाई अवगत गराएको थियो।
नेपाल पोल्ट्रीजन्य उत्पादनमा आत्मनिर्भरतातर्फ अघि बढिरहेको अवस्थामा अवैध आयात तथा चोरी पैठारीले स्वदेशी उद्योगी, व्यवसायी र किसानको लगानी जोखिममा पार्न सक्ने टोलीको भनाइ थियो। स्वदेशी उत्पादनको बजार संरक्षण, किसानको लगानीको सुरक्षा तथा स्वस्थ प्रतिस्पर्धाको वातावरण कायम गर्न अवैध कारोबार नियन्त्रण आवश्यक रहेकोमा टोलीले जोड दिएको थियो।
त्यसैगरी, सीमा क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रणका लागि सुरक्षा निकाय, उद्योगी, व्यवसायी तथा किसानबीच निरन्तर समन्वय र सहकार्य आवश्यक रहेको औँल्याइएको थियो।
भेटघाटमा नेपाल ह्याचरी उद्योग संघका वरिष्ठ उपाध्यक्ष डा. बलराम किसी, उपाध्यक्ष बलराम सन्जेल, महासचिव नवराज पौड्याल, नेपाल दाना उद्योग संघका निवर्तमान अध्यक्ष रविन पुरी, नेपाल ह्याचरी उद्योग संघका कार्यसमिति सदस्य नारायण गिरी, विष्णुप्रसाद रिमाल तथा अहम्मद रिजवान सहभागी थिए।
त्यसैगरी, चितवनबाट सुदर्शन जोशी, डा. सुलभ श्रेष्ठ, प्रकाश पौडेल तथा बारा जिल्लाका विभिन्न पोल्ट्री व्यवसायी र किसानहरूको समेत सहभागिता रहेको थियो।
स्वदेशी पोल्ट्री उद्योगको संरक्षण र अवैध चोरी पैठारी नियन्त्रणका लागि सीमा क्षेत्रमा निगरानी तथा अनुगमनलाई थप प्रभावकारी बनाउनुका साथै सम्बन्धित निकायबीच सहकार्य विस्तार गर्नुपर्नेमा टोलीले जोड दिएको छ।