काठमाडौं !भारतबाट अवैध रूपमा नेपाल भित्रिने कुखुरा तथा कुखुराजन्य वस्तुको आयात नियन्त्रण र सीमा नाकाको अवस्थाबारे जानकारी लिन गरिएको अनुगमनका क्रममा बारा तथा पर्साका पोल्ट्री व्यवसायी र कुखुरापालक किसानहरूसँग भेटघाट तथा छलफल गरिएको छ।
अनुगमनका क्रममा राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका बारा तथा पर्सा जिल्ला अध्यक्षहरूसँग समेत भेटघाट गरी नेपाली पोल्ट्री क्षेत्रले भोगिरहेका समस्या, चुनौती तथा समाधानका उपायबारे छलफल गरिएको हो।
छलफलमा बजारमा कुखुराको मूल्यमा हुने उतारचढाव, भारतबाट अवैध रूपमा भित्रिने कुखुराका कारण स्वदेशी पोल्ट्री व्यवसायमा परेको असर तथा किसानले उत्पादनको उचित मूल्य पाउन नसक्ने अवस्थालगायत विषय उठाइएको थियो।
विशेषगरी अवैध रूपमा भित्रिने कुखुराले नेपाली बजारमा सिर्जना गर्ने अस्वस्थ प्रतिस्पर्धा, स्वदेशी उत्पादनको बिक्रीमा पर्ने असर र किसानको लगानी जोखिममा पर्ने अवस्थाबारे सहभागीहरूले गम्भीर चासो व्यक्त गरेका थिए।
अनुगमन तथा छलफलमा नेपाल ह्याचरी उद्योग संघका वरिष्ठ उपाध्यक्ष डा. बलराम किसी, उपाध्यक्ष बलराम सन्जेल, महासचिव नवराज पौड्याल, नेपाल दाना उद्योग संघका निवर्तमान अध्यक्ष रविन पुरी तथा नेपाल ह्याचरी उद्योग संघका कार्यसमिति सदस्यहरू नारायण गिरी, विष्णुप्रसाद रिमाल र रिजवान अहमद सहभागी थिए। त्यसैगरी, चितवनबाट सुदर्शन जोशी, डा. सुलभ श्रेष्ठ र प्रकाश पौडेलको समेत उपस्थिति रहेको थियो।
छलफलका क्रममा सहभागी व्यवसायी तथा किसानहरूले सीमा नाकामा प्रभावकारी अनुगमन र निगरानी बढाई अवैध रूपमा भित्रिने कुखुरा तथा कुखुराजन्य वस्तुको ओसारपसार नियन्त्रण गर्नुपर्नेमा जोड दिएका थिए।
त्यसैगरी, स्वदेशी पोल्ट्री उद्योगको संरक्षण, किसानको लगानीको सुरक्षा, उत्पादनको उचित मूल्य सुनिश्चितता र बजारमा मूल्य सन्तुलन कायम गर्न सम्बन्धित सरकारी निकाय, व्यवसायी, किसान तथा सरोकारवाला संघसंस्थाबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो।
नेपाली पोल्ट्री क्षेत्रलाई आत्मनिर्भर तथा दिगो बनाउन अवैध आयात नियन्त्रणसँगै स्वदेशी उत्पादनको प्रवर्द्धन, बजार व्यवस्थापन र किसानमैत्री नीतिको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको सहभागीहरूको भनाइ थियो।