काठमाडौं, ११ भदौ । नेपाल लेयर्स कुखुरापालक संघले रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लामा बाढी तथा प्राकृतिक विपद्का कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १० लाख सहयोग गरेको छ।
सरकारले बाढी तथा विपद्बाट प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनाका लागि सहयोग गर्न आह्वान गरेपछि संघले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरेको संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिनुभयो।
बुधबार चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको ठूलो बाढीका कारण रसुवा, धादिङ, नुवाकोट, गोरखालगायतका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। बाढीका कारण नागरिकको ज्यान गएको, घर तथा पूर्वाधारमा क्षति पुगेको र स्थानीयको जनजीवन प्रभावित भएको घटनाप्रति संघले गहिरो दुःख व्यक्त गरेको छ।
अध्यक्ष पोखरेलले विपद्मा परी ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते तथा प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभ र सामान्य जीवनमा फर्किन सक्ने अवस्था निर्माण होस् भन्ने कामना गर्नुभयो।
उहाँले भन्नुभयो, “नेपालको इतिहासमै त्रासदीपूर्ण घटनाका रूपमा देखिएको यस विपद्मा परी ज्यान गुमाउनुहुने सम्पूर्ण नागरिकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौं।”
प्राकृतिक विपद्का समयमा राज्यको प्रयास मात्र पर्याप्त नहुने भन्दै अध्यक्ष पोखरेलले निजी क्षेत्र, व्यवसायी, संघसंस्था तथा सर्वसाधारण सबैले आफ्नो क्षमताअनुसार राहत तथा उद्धार अभियानमा सहयोग गर्नुपर्ने बताउनुभयो।
नेपाल लेयर्स कुखुरापालक संघले विगतमा पनि भूकम्पलगायत विभिन्न प्राकृतिक विपत्तिमा सहयोग गर्दै आएको स्मरण गर्दै उहाँले व्यवसायसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।
“व्यवसायबाट प्राप्त स्रोत र क्षमताको केही हिस्सा राष्ट्रलाई परेको विपद्मा सहयोग गर्नु हाम्रो सामाजिक दायित्व पनि हो। विपद्का बेला पीडित नागरिकको साथमा उभिनुपर्छ भन्ने भावनाले संघका तर्फबाट रु. १० लाख सहयोग गरेका हौं,” अध्यक्ष पोखरेलले भन्नुभयो।
बाढीका कारण प्रभावित क्षेत्रमा तत्काल राहत, खाद्यान्न, औषधि, सुरक्षित आवास तथा उद्धारको आवश्यकता रहेकाले सहयोग रकमले पीडित परिवारलाई राहत पुर्याउन केही योगदान गर्ने संघको विश्वास छ।
संघले विपद्बाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सरकार, स्थानीय तह, सुरक्षा निकाय, गैरसरकारी संस्था तथा निजी क्षेत्रबीच थप समन्वय आवश्यक रहेको जनाएको छ।
त्यस्तै, बाढीका कारण पशुपन्छी क्षेत्रमा समेत ठूलो क्षति हुन सक्ने भन्दै प्रभावित क्षेत्रमा पशु तथा पन्छीको उद्धार, उपचार, दाना–पानी तथा स्वास्थ्य व्यवस्थापनमा समेत सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने संघले जनाएको छ।
संघले विपद्को यस कठिन घडीमा प्रभावित नागरिक, किसान तथा व्यवसायीको साथमा रहेको उल्लेख गर्दै राहत तथा पुनःस्थापनाका लागि सबै पक्षलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरेको छ।
नेपाल लेयर्स कुखुरापालक संघको रु. १० लाख सहयोगले प्राकृतिक विपद्का बेला पोल्ट्री क्षेत्रबाट समेत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने प्रतिबद्धता देखाएको छ।