चितवन, साउन १ – केही महिनाअघि बर्डफ्लू संक्रमणका कारण गम्भीर संकटमा परेको नेपालको पोल्ट्री उद्योग विस्तारै पुनः लयमा फर्किन थालेको छ। संक्रमणको त्रास कम हुँदै जाँदा उपभोक्ताले कुखुराको मासु र अण्डाको उपभोग बढाउन थालेका छन्। यससँगै लामो समयदेखि दबाबमा रहेको बजार मूल्यमा पनि क्रमिक सुधार देखिन थालेको छ, जसले किसान, ह्याचरी उद्योग तथा अण्डा उत्पादक व्यवसायीमा नयाँ आशा जगाएको छ।
बर्डफ्लू संक्रमण पुष्टि भएपछि देशका विभिन्न जिल्लामा कुखुरा नष्ट गरिनुका साथै उपभोक्तामा पनि मासु र अण्डा सेवनप्रति डर उत्पन्न भएको थियो। यसको प्रत्यक्ष असर बजारमा देखिँदा कुखुराको मासु र अण्डाको बिक्री उल्लेखनीय रूपमा घटेको थियो। माग घटेपछि उत्पादन श्रृंखलाको सबै तह प्रभावित बनेका थिए।
नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेका अनुसार बर्डफ्लूको असरले दैनिक करिब आठ लाख किलो हुने कुखुराको मासु खपत घटेर करिब छ लाख किलोमा सीमित भएको थियो। अहिले भने उपभोक्ताको विश्वास पुनः बढ्दै जाँदा खपत विस्तारै पुरानै अवस्थामा फर्किन थालेको उहाँले बताउनुभयो।
उहाँका अनुसार बजारमा चल्लाको माग अत्यधिक घटेपछि ह्याचरी उद्योगहरूले लगातार तीन ह्याचसम्म उत्पादन भएका चल्ला नष्ट गर्नुपरेको थियो। सामान्य अवस्थामा प्रतिगोटा करिब रु. ९० मा बिक्री हुने ब्रोइलर चल्ला रु. २५ सम्ममा बिक्री गर्नुपर्ने बाध्यता आएको थियो। हाल बजारमा सुधार आउन थालेपछि चल्लाको मूल्य बढेर रु. ४० पुगेको छ। यद्यपि यो मूल्य अझै उत्पादन लागतअनुसार सन्तोषजनक नभएको व्यवसायीहरूको भनाइ छ।
ब्रोइलर कुखुराको मूल्यमा पनि उल्लेखनीय सुधार देखिएको छ। केही साताअघि प्रतिकिलो रु. २५० बाट घटेर रु. १४० सम्म पुगेको जिउँदो कुखुराको मूल्य अहिले बढेर रु. १९० हाराहारी पुगेको छ। उद्योगीहरूका अनुसार बजारको माग पुनः बढ्दै गएमा मूल्य अझै स्थिर हुने अपेक्षा गरिएको छ।
अण्डा उत्पादन क्षेत्रमा पनि बर्डफ्लूको प्रभाव स्पष्ट देखिएको थियो। नेपाल लेयर्स कुखुरापालक सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार सामान्य अवस्थामा दैनिक करिब ४५ लाख गोटा अण्डा उत्पादन हुने गरे पनि संक्रमणपछि उत्पादन घटेर करिब २८ लाख गोटामा सीमित भएको थियो। माग घट्दा अण्डाको मूल्य पनि निरन्तर ओरालो लागेको थियो।
जेठ महिनाको अन्त्यतिर एक क्रेट (३० वटा) अण्डाको मूल्य करिब रु. ५५० रहेकोमा बजार सुस्ताएपछि रु. ४५० सम्म झरेको थियो। हाल भने उपभोक्ताको माग बढ्दै जाँदा अण्डाको मूल्यमा पनि क्रमिक सुधार देखिन थालेको व्यवसायीहरू बताउँछन्। यद्यपि एक क्रेट अण्डाको उत्पादन लागत रु. ५७३.६० पर्ने भएकाले व्यवसायी अझै पूर्ण रूपमा नाफाको अवस्थामा पुग्न नसकेको उनीहरूको भनाइ छ।
पोखरेलले बर्डफ्लूका कारण ठूलो आर्थिक क्षति बेहोरेका किसान तथा व्यवसायीलाई राज्यले राहत र पुनःस्थापना कार्यक्रममार्फत सहयोग गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले पोल्ट्री क्षेत्र राष्ट्रिय खाद्य सुरक्षासँग जोडिएको महत्वपूर्ण उद्योग भएकाले यसको संरक्षणमा सरकार गम्भीर हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।
राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला, भरतपुरका प्रमुख डा. विजयकुमार श्रेष्ठका अनुसार राम्रोसँग पकाएर कुखुराको मासु र अण्डा सेवन गर्दा बर्डफ्लू संक्रमणको जोखिम नहुने वैज्ञानिक तथ्यबारे जनचेतना बढ्दै गएपछि उपभोक्ताको विश्वास पुनः स्थापित हुन थालेको हो। उहाँले पछिल्ला दुई महिनादेखि चितवनमा बर्डफ्लू संक्रमणको नयाँ घटना नदेखिएको जानकारी दिँदै रोग नियन्त्रणको अवस्था उत्साहजनक रहेको बताउनुभयो।
पोल्ट्री क्षेत्रका व्यवसायीहरूका अनुसार बजारमा आएको सुधारले उद्योगलाई केही राहत दिएको भए पनि दाना, चल्ला, औषधि तथा उत्पादन लागत अझै उच्च रहेकाले उद्योग पूर्ण रूपमा संकटमुक्त भइसकेको अवस्था भने छैन। उनीहरू सरकारले रोग नियन्त्रण, किसानको क्षतिपूर्ति, बजार व्यवस्थापन र उपभोक्तामा सही सूचना प्रवाहलाई निरन्तरता दिएमा पोल्ट्री उद्योग छिट्टै पुरानै लयमा फर्किने विश्वास व्यक्त गर्छन्।