काठमाडौं । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।
कम्पनीले आज कात्तिक १९ गते १७ करोड रुपैयाँ बराबरको १७ लाख कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ जारी गर्नेछ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले पाएको छ।
कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले भेटेरिनरी औषधिको अनुसन्धान तथा विकास गर्नुका साथै पशुपन्छीका लागि विभिन्न आहारपूरक (सप्लिमेन्ट) उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ।
पोल्ट्री तथा भेटेरिनरी क्षेत्रसँग सम्बन्धित कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने अनुमति पाएसँगै यसको सेयर निष्कासनप्रति लगानीकर्ताको चासो बढ्ने अपेक्षा गरिएको छ।