अवैध पोल्ट्रीजन्य वस्तुको ओसारपसार नियन्त्रण गर्न सशस्त्र प्रहरीसँग उद्योगीहरूको आग्रह

poultrymanchnepal.com

काठमाडौं । भारतीय सीमावर्ती नाकाबाट हुने अवैध पोल्ट्रीजन्य वस्तुको ओसारपसार नियन्त्रणका लागि नेपाल ह्याचरी उद्योग संघले सुरक्षा निकायको ध्यानाकर्षण गराएको छ।

नेपाल ह्याचरी उद्योग संघका वरिष्ठ उपाध्यक्ष डा. बलराम किसी, उपाध्यक्ष बलराम सन्जेल, महासचिव नवराज पौड्याल, नेपाल दाना उद्योग संघका निवर्तमान अध्यक्ष रविन पुरी तथा नेपाल ह्याचरी उद्योग संघका कार्यसमिति सदस्यहरू नारायण गिरी, विष्णुप्रसाद रिमाल र रिजवान अहमदसहितको टोलीले नाका अनुगमनका क्रममा महोत्तरी र सर्लाहीका सशस्त्र प्रहरी प्रमुखहरूसँग भेटघाट गरेको हो।

टोलीले महोत्तरीका सशस्त्र प्रहरी प्रमुख डीआईजी विष्णुप्रसाद भट्ट तथा सर्लाहीका सशस्त्र प्रहरी प्रमुख एसपी अमरबहादुर खत्रीसँग भेट गरी भारतीय नाकाबाट हुने पोल्ट्रीजन्य वस्तुको अवैध ओसारपसार नियन्त्रण गर्न सीमा क्षेत्रमा कडा सुरक्षा व्यवस्था मिलाउन र प्रभावकारी निगरानी बढाउन आग्रह गरेको छ।

भेटका क्रममा अवैध रूपमा भित्रिने पोल्ट्रीजन्य वस्तुले स्वदेशी पोल्ट्री उद्योग तथा किसानहरूको लगानीमा पार्न सक्ने असरबारे समेत ध्यानाकर्षण गराइएको थियो।

स्वदेशी पोल्ट्री उद्योगको संरक्षण र किसानहरूको लगानी सुरक्षाका लागि अवैध ओसारपसार नियन्त्रण गर्न नेपाल ह्याचरी उद्योग संघ सदैव प्रतिबद्ध र तत्पर रहेको संघका कार्यसमिति सदस्य नारायण गिरीले बताउनुभयो।

स्वदेशी पोल्ट्री क्षेत्रलाई व्यवस्थित, सुरक्षित र प्रतिस्पर्धी बनाउन सीमा नाकामा प्रभावकारी निगरानी तथा अवैध आयात नियन्त्रण आवश्यक रहेको व्यवसायीहरूले बताएका छन्।

फोटो सौजन्य: नारायण गिरी



प्रतिक्रिया