चितवनसहित ७ जिल्लामा बर्डफ्लु नियन्त्रणमा

poultrymanchnepal.com

७ जिल्लामा बर्डफ्लु नियन्त्रण, चार जिल्लामा निगरानी जारी


काठमाडौं, असार २३ — पशुसेवा विभागले झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा बर्डफ्लु नियन्त्रणमा आएको जनाएको छ।


विभागका अनुसार पछिल्लो समय ११ जिल्लामा फैलिएको बर्डफ्लु सङ्क्रामक रोगमध्ये हाल चार जिल्ला—काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकमा भने निगरानी तथा नियन्त्रणका कार्य जारी रहेका छन्।


विभागका प्रवक्ता डा. मुकुल उपाध्यायका अनुसार रोग नियन्त्रणका लागि प्राविधिक टोली परिचालन गरी सङ्क्रमित क्षेत्रका सम्पूर्ण पन्छी, पन्छीजन्य पदार्थ तथा पन्छी उत्पादन सामग्री नष्ट गरी सुरक्षित व्यवस्थापन गरिएको छ।


त्यसैगरी, रोग नियन्त्रण अभियानका क्रममा पशु क्वारेन्टाइन कार्यालयले उच्च सतर्कता अपनाउँदै गस्ती परिचालन गरी अवैध रूपमा पैठारी गरिएका पन्छीसमेत नष्ट गरेको थियो। हाल प्रभावित क्षेत्रमा रोग नियन्त्रणमा आएपछि पन्छी तथा पन्छीजन्य वस्तुको ओसारपसार क्रमशः खुकुलो बनाइएको विभागले जनाएको छ।


विभागले बर्डफ्लु पन्छीमा लाग्ने उच्च मृत्युदर भएको सङ्क्रामक रोग भएकाले सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय तथा सहकार्य गर्दै आवश्यक जनशक्ति परिचालन गरी नियन्त्रण अभियान सञ्चालन गरिएको जनाएको छ।


प्रतिक्रिया