अण्डाको समर्थन मूल्य बढ्यो, प्रतिगोटा उपभोक्ता मूल्य रु २५ सिफारिस

poultrymanchnepal.com

काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको फार्म समर्थन मूल्य बढाएको छ। संघको २०८३ साल श्रावण १३ गते चितवनमा सम्पन्न भौतिक तथा भर्चुअल बैठकले देशभरका अण्डा उत्पादकहरूको राय, परामर्श तथा सिफारिसका आधारमा अण्डाको नयाँ फार्म समर्थन मूल्य निर्धारण गरेको हो।


संघले जारी गरेको सूचनाअनुसार नयाँ मूल्य २०८३ साल श्रावण १३ गतेदेखि लागू हुनेछ। चितवनलाई आधार मानेर निर्धारण गरिएको नयाँ समर्थन मूल्यअनुसार XL अण्डा (१४.५–१४.८ केजी) को फार्म मूल्य प्रति क्रेट रु ५४५, ठूलो अण्डा (१३.५–१३.८ केजी) को रु ५३०, मिडियम अण्डा (१२.५–१२.८ केजी) को रु ५०० तथा सानो अण्डा (१२ केजीभन्दा कम) को प्रति पेटी रु ३,००० कायम गरिएको छ।


संघले किसान, संकलनकर्ता, थोक तथा खुद्रा व्यवसायीलाई तोकिएको समर्थन मूल्यअनुसार कारोबार गर्न अनुरोध गरेको छ। संघका अनुसार बजारमा मूल्य स्थिरता कायम राख्दै उत्पादक किसानलाई उचित मूल्य सुनिश्चित गर्ने उद्देश्यले नयाँ समर्थन मूल्य निर्धारण गरिएको हो।


यस्तै, संघले उपभोक्ताका लागि प्रतिगोटा अण्डाको सिफारिस मूल्य रु २५ निर्धारण गरेको जनाएको छ। नयाँ मूल्य लागू भएसँगै देशभर अण्डाको कारोबार सोही मूल्य संरचनाअनुसार हुने अपेक्षा गरिएको छ।


नेपाल लेयर्स कुखुरापालक संघका सचिव मदन पोखरेलद्वारा जारी सूचनामा अण्डा उत्पादकहरूको सुझाव, उत्पादन लागत तथा वर्तमान बजार अवस्थालाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको उल्लेख गरिएको छ।


प्रतिक्रिया