मासु जाँच ऐन कार्यान्वयनका लागि १२ टास्क फोर्स गठन

poultrymanchnepal.com

काठमाडौं, ७ असोज । पशु सेवा विभागले पशु बधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका लागि १२ वटा टास्क फोर्स गठन गरी अभिमुखीकरण सम्पन्न गरेको छ।

प्रदेश, स्थानीय तह तथा मासु व्यवसायीलाई ऐन कार्यान्वयनका विषयमा स्थलगत प्राविधिक परामर्श र सहयोग उपलब्ध गराउने उद्देश्यले टास्क फोर्स गठन गरिएको विभागले जनाएको छ।

विभागका महानिर्देशक डा. उमेश दाहालले संघीय निकायका तर्फबाट प्रदेश तथा स्थानीय तहका सम्बन्धित निकायलाई ऐन कार्यान्वयनमा आवश्यक प्राविधिक सहयोग गर्न टास्क फोर्सलाई निर्देशन दिएका छन्।

गत भदौ ३० गते बसेको सचिवस्तरीय बैठकले ऐन कार्यान्वयनका लागि कुनै कसर बाँकी नराखी आवश्यक तयारी गर्न विभागलाई निर्देशन दिएको थियो।

यसैबीच, टास्क फोर्ससँग समन्वय गर्न विभागले उपमहानिर्देशक डा. विकास श्रेष्ठको संयोजकत्वमा राष्ट्रिय पशु बधशाला तथा मासु जाँच कार्यान्वयन समिति गठन गरेको छ।

समितिले ऐन कार्यान्वयनको प्रगति तथा आवश्यक विषयबारे कृषि, वन तथा वातावरण मन्त्रालयका सचिवको अध्यक्षतामा हरेक साता बस्ने बैठकमा रिपोर्टिङ गर्नेछ।

विभागका अनुसार टास्क फोर्सले प्रदेश तथा स्थानीय तहमा पुगेर ऐन कार्यान्वयनका लागि आवश्यक प्राविधिक सहजीकरण, परामर्श तथा समन्वय गर्नेछ।


प्रतिक्रिया