काठमाडौं । सामुदायिक कुकुरको सुरक्षित नियन्त्रणमार्फत रेबिजविरुद्धको खोप तथा बन्ध्याकरण अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले कैलाली र कञ्चनपुरका ३२ जना नगर प्रहरीलाई पहिलोपटक कुकुर नियन्त्रण तथा सुरक्षित व्यवस्थापन (Dog Handling and Restraining Techniques) सम्बन्धी विशेष तालिम प्रदान गरिएको छ।
पशु सेवा विभाग र खाद्य तथा कृषि संगठन (FAO) नेपालको आयोजनामा सञ्चालन गरिएको उक्त तालिममा विभिन्न स्थानीय तहमा कार्यरत नगर प्रहरीलाई सामुदायिक कुकुरलाई सुरक्षित रूपमा नियन्त्रण गर्ने, समात्ने तथा खोप र बन्ध्याकरणका लागि आवश्यक व्यवस्थापन गर्ने व्यवहारिक सीप प्रदान गरिएको हो।
तालिमको समापन कार्यक्रम पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालको अध्यक्षता तथा सुदूरपश्चिम प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्री दमनबहादुर भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
पशु सेवा विभागका अनुसार नगर प्रहरीलाई कुकुर नियन्त्रणसम्बन्धी यस्तो तालिम पहिलोपटक प्रदान गरिएको हो। स्थानीय तहमा सामुदायिक कुकुर व्यवस्थापनका क्रममा नगर प्रहरीको प्रत्यक्ष संलग्नता रहने भएकाले उनीहरूको क्षमता विकासले रेबिज नियन्त्रणका कार्यक्रमलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
विशेषगरी रेबिजविरुद्धको खोप लगाउने तथा सामुदायिक कुकुरको बन्ध्याकरण गर्ने क्रममा कुकुरलाई सुरक्षित रूपमा नियन्त्रण गर्नु चुनौतीपूर्ण हुने भएकाले तालिमबाट प्राप्त सीपले आगामी अभियानमा सहजता ल्याउने विश्वास गरिएको छ।
आगामी दिनमा स्थानीय तहमा सञ्चालन हुने खोप तथा बन्ध्याकरण अभियानमा तालिम प्राप्त नगर प्रहरीलाई परिचालन गरिएमा कार्यक्रमको पहुँच र प्रभावकारिता बढ्ने आयोजकको अपेक्षा छ।
मानव, पशु तथा वातावरणको स्वास्थ्यलाई एकीकृत रूपमा सम्बोधन गर्ने ‘One Health’ अवधारणा अन्तर्गत रेबिज नियन्त्रणका कार्यक्रमलाई अघि बढाइएको छ। नेपालले सन् २०३० सम्ममा कुकुरबाट हुने मानव रेबिज मृत्युलाई शून्यमा झार्ने लक्ष्य लिएको सन्दर्भमा स्थानीय तहको क्षमता विकास र सामुदायिक कुकुर व्यवस्थापनलाई महत्वपूर्ण मानिएको छ।
कार्यक्रममा सहभागी नगर प्रहरी तथा सरोकारवालाले तालिमबाट कुकुर नियन्त्रण तथा सुरक्षित व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान र सीप हासिल भएको बताएका छन्। आयोजकले कार्यक्रम सफल बनाउन सहयोग गर्ने स्थानीय तह, नगर प्रहरी, पशु स्वास्थ्यकर्मी, प्रशिक्षक तथा अन्य सरोकारवालाप्रति आभार व्यक्त गरेको छ।