काठमाडौं, ६ असोज । नेपाल ह्याचरी उद्योग संघले भारतीय खुला सीमा तथा विभिन्न नाकाबाट हुने अवैध पोल्ट्रीजन्य वस्तुको आयात तथा ओसारपसार नियन्त्रण गर्न अनुगमन र निगरानी बढाउने निर्णय गरेको छ।
संघका अध्यक्ष राजेन्द्र लामिछानेको अध्यक्षतामा बसेको बैठकले पोल्ट्री क्षेत्रसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्दै अवैध पोल्ट्रीजन्य वस्तुको ओसारपसार नियन्त्रण तथा ह्याचरी मापदण्ड परिमार्जनसम्बन्धी महत्वपूर्ण निर्णय गरेको हो।
अवैध पोल्ट्रीजन्य वस्तुको ओसारपसारमा कडाइ
बैठकले भारतीय खुला सीमा तथा विभिन्न नाकाबाट अवैध रूपमा नेपाल भित्रिने पोल्ट्रीजन्य वस्तुको ओसारपसार नियन्त्रणका लागि सम्बन्धित नाकामा अनुगमन तथा निगरानीलाई तीव्रता दिने निर्णय गरेको छ।
संघले अवैध रूपमा पोल्ट्रीजन्य वस्तु भित्र्याउने, ओसारपसार गर्ने तथा गराउने कार्यमा संलग्न व्यक्तिहरूलाई प्रचलित कानुनबमोजिम कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायसमक्ष सिफारिस गर्ने निर्णयसमेत गरेको जनाएको छ।
खुला सीमाबाट हुने अवैध ओसारपसार नियन्त्रणका लागि सम्बन्धित सरकारी निकाय, सुरक्षा निकाय तथा सरोकारवाला पक्षबीच प्रभावकारी समन्वय आवश्यक रहेको संघको निष्कर्ष छ।
ह्याचरी मापदण्ड र पोल्ट्री निर्देशिका परिमार्जनको तयारी
बैठकले हाल प्रचलनमा रहेको ह्याचरी मापदण्ड तथा पोल्ट्री निर्देशिकाको गहन अध्ययन गरी आवश्यक सुधार र परिमार्जन गर्ने विषयलाई समेत प्राथमिकतामा राखेको छ।
संघका अनुसार निर्देशिकामा थप गर्नुपर्ने, सुधार गर्नुपर्ने तथा समयसापेक्ष रूपमा परिमार्जन गर्नुपर्ने विषयहरू पहिचान गरी तीन महले (Three-Column) तयार गरिएको छ।
उक्त तीन महले पशु सेवा विभागका महानिर्देशकसमक्ष पेश गरिएको संघले जनाएको छ।
संघले ह्याचरी तथा समग्र पोल्ट्री क्षेत्रको वर्तमान आवश्यकता र व्यावहारिक पक्षलाई सम्बोधन हुने गरी विद्यमान मापदण्ड तथा निर्देशिकालाई समयसापेक्ष बनाउन आवश्यक रहेको जनाएको छ।
पोल्ट्री क्षेत्र व्यवस्थित बनाउने उद्देश्य
बैठकका निर्णयहरूमा एकातर्फ अवैध रूपमा भित्रिने पोल्ट्रीजन्य वस्तुको नियन्त्रणलाई प्राथमिकता दिइएको छ भने अर्कोतर्फ ह्याचरी उद्योगसँग सम्बन्धित मापदण्ड तथा निर्देशिकालाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषयलाई अघि बढाइएको छ।
संघले पोल्ट्री क्षेत्रसँग सम्बन्धित नीतिगत तथा व्यावहारिक विषयमा सम्बन्धित सरकारी निकायसँग समन्वय गर्दै आवश्यक पहललाई निरन्तरता दिने जनाएको छ।