नेपाल भेटेरिनरी एसोसिएसन र जापानका संस्थाबीच ‘वन हेल्थ’ सहकार्यसम्बन्धी समझदारी

poultrymanchnepal.com

काठमाडौं । विश्व भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा. इसाओ कुराउचीको नेपाल भ्रमणका अवसरमा नेपाल भेटेरिनरी एसोसिएसनले अन्तर्राष्ट्रिय सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने महत्वपूर्ण समझदारी गरेको जनाएको छ।

भ्रमणका क्रममा विश्व तथा क्षेत्रीय भेटेरिनरी संस्थाका प्रतिनिधिहरूसँग उच्चस्तरीय छलफल हुनुका साथै ‘वन हेल्थ’ अवधारणालाई प्रवर्द्धन गर्ने उद्देश्यले महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर गरिएको हो।

२०८३ साउन १८ गते नेपाल भेटेरिनरी एसोसिएसन, फेडेरेसन अफ एसियन भेटेरिनरी एसोसिएसन–वन हेल्थ फुकुओका अफिस तथा जापान भेटेरिनरी मेडिकल एसोसिएसनबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।

समझदारीपत्रमा भेटेरिनरी शिक्षा, अनुसन्धान, जनस्वास्थ्य, ‘वन हेल्थ’ अवधारणाको प्रवर्द्धन, प्राविधिक ज्ञान आदान–प्रदान, क्षमता अभिवृद्धि, संयुक्त तालिम, सेमिनार, अनुसन्धान तथा प्राविधिक सहयोगका क्षेत्रमा सहकार्य गर्ने उल्लेख गरिएको छ।

समझदारीपत्रमा नेपाल भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा. केदार सुवेदी तथा साझेदार संस्थाहरूका तर्फबाट विश्व भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा. इसाओ कुराउचीले हस्ताक्षर गरेका थिए।

समझदारीअनुसार सहभागी संस्थाहरूले भेटेरिनरी शिक्षा तथा अनुसन्धानलाई थप प्रभावकारी बनाउँदै प्राविधिक ज्ञान आदान–प्रदान, संयुक्त तालिम तथा ‘वन हेल्थ’ अवधारणाको प्रवर्द्धनमा सहकार्य गर्नेछन्।

यस सहकार्यबाट नेपालका भेटेरिनरी चिकित्सकहरूको क्षमता अभिवृद्धि, पशु स्वास्थ्य सेवा सुदृढीकरण, खाद्य सुरक्षा तथा जनस्वास्थ्य संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

नेपाल भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा. केदार सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन एसोसिएसनका प्रमुख सम्पादक डा. हिमाल लुइँटेलले गरेका थिए।

कार्यक्रममा विश्व भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा. इसाओ कुराउचीसहित उहाँको प्रतिनिधिमण्डल, कृषि, वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. रामनन्दन तिवारी, नेपाल भेटेरिनरी काउन्सिलका अध्यक्ष डा. हेमराज अवस्थी, नेपाल कृषि अनुसन्धान परिषद्की वरिष्ठ वैज्ञानिक डा. निना अमात्यलगायतको सहभागिता रहेको थियो।

त्यसैगरी नेपाल भेटेरिनरी एसोसिएसनका पूर्वअध्यक्षहरू डा. सितलकाजी श्रेष्ठ, डा. प्रह्लाद सापकोटा र डा. विमलकुमार निर्मल, फाभा जेड्सी कार्यक्रमकी प्रतिनिधि डा. सम्झना काफ्ले, एसोसिएसनका केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा पशुपन्छी विकास क्षेत्रसँग सम्बन्धित विभिन्न सरकारी एवं गैरसरकारी निकायका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको एसोसिएसनका सचिव डा. विशाल पोख्रेलले जानकारी दिए।

नेपाल भेटेरिनरी एसोसिएसनका महासचिव डा. शंकर न्यौपानेले उक्त समझदारीलाई नेपालको भेटेरिनरी क्षेत्रका लागि ऐतिहासिक उपलब्धि भएको बताए।

उनका अनुसार अन्तर्राष्ट्रिय सहकार्यबाट प्रविधि हस्तान्तरण, अनुसन्धान, दक्ष जनशक्ति विकास तथा ‘वन हेल्थ’ अवधारणाको प्रभावकारी कार्यान्वयनका लागि नयाँ अवसर सिर्जना हुने विश्वास गरिएको छ।

नेपाल भेटेरिनरी एसोसिएसनले विश्व भेटेरिनरी एसोसिएसन, जापान भेटेरिनरी मेडिकल एसोसिएसन तथा फेडेरेसन अफ एसियन भेटेरिनरी एसोसिएसन–वन हेल्थ फुकुओका अफिसप्रति सहयोग र विश्वासका लागि आभार व्यक्त गरेको छ।

एसोसिएसनले आगामी दिनमा नेपालको भेटेरिनरी सेवा, जनस्वास्थ्य तथा ‘वन हेल्थ’ अभियानलाई थप सुदृढ बनाउन अन्तर्राष्ट्रिय सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाएको छ।


प्रतिक्रिया