काठमाडौँ । भारतीय सीमा नाकासँग जोडिएका जिल्लाहरूबाट अवैध रूपमा नेपाल भित्रिने चल्ला, कुखुरा, मासु तथा अण्डा नियन्त्रण गर्न नेपाल ह्याचरी उद्योग संघको नेतृत्वमा देशभर अनुगमन अभियान तीव्र बनाइएको छ। पोल्ट्री क्षेत्रसँग सम्बन्धित विभिन्न संघ–संस्थाहरूको संयुक्त सहभागितामा जिल्लास्तरमै निगरानी तथा अनुगमन कार्य अगाडि बढाइएको हो।
अवैध आयातका कारण स्वदेशी पोल्ट्री उद्योग, किसान तथा व्यवसायी प्रत्यक्ष प्रभावित हुँदै आएको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्। बिना परीक्षण तथा मापदण्डविपरीत भित्रिने पोल्ट्रीजन्य सामग्रीले बजार असन्तुलन मात्र नभई रोग संक्रमणको जोखिमसमेत बढाउने बताइएको छ।
नेपाल ह्याचरी उद्योग संघका अनुसार सीमावर्ती क्षेत्रहरूमा विशेष निगरानी राखिएको छ भने स्थानीय प्रशासन, प्रहरी तथा सम्बन्धित सरकारी निकायसँग समन्वय गरी बजार अनुगमनलाई थप प्रभावकारी बनाइएको छ। अवैध रूपमा आयात गरिएका चल्ला, मासु तथा अण्डाको बिक्री वितरण रोक्न विभिन्न जिल्लाहरूमा संयुक्त टोली परिचालन गरिएको जनाइएको छ।
संघले स्वदेशी उत्पादनको संरक्षण, किसानको लगानी सुरक्षित गर्ने तथा उपभोक्तालाई स्वस्थ र गुणस्तरीय खाद्य सामग्री उपलब्ध गराउने उद्देश्यले आगामी दिनमा पनि यस्तो अभियानलाई निरन्तरता दिने जनाएको छ।