बर्डफ्लुबाट नआत्तिन आग्रह, राम्ररी पकाएको मासु र अण्डा निर्धक्क खान सकिने

poultrymanchnepal.com


काठमाडौं । देशका विभिन्न स्थानमा बर्डफ्लुको संक्रमण देखिएसँगै उपभोक्तामा कुखुराको मासु र अण्डा सेवनबारे अन्योल बढिरहेका बेला विज्ञहरूले कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा बर्डफ्लुको कुनै जोखिम नहुने स्पष्ट पारेका छन्।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा. डा. ऋषिराम कट्टेल

 अनुसार बर्डफ्लु भाइरस काँचो मासुमा मात्र रहने भएकाले राम्रोसँग पकाइएको मासु र अण्डा पूर्ण रूपमा सुरक्षित हुन्छ। उनले काँचो मासु राखिएको भाँडा तथा अन्य सामग्री तातोपानी र साबुनले राम्ररी सफा गरी निःसंक्रमित गर्नुपर्ने सुझाव दिए।

उनका अनुसार ४० डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा भाइरस निष्क्रिय हुन थाल्छ भने सामान्य खाना पकाउने तापक्रममा भाइरस पूर्ण रूपमा नष्ट हुन्छ। साथै, बर्डफ्लु संक्रमित कुखुराले अण्डा उत्पादन नगर्ने भएकाले बजारमा उपलब्ध अण्डा सुरक्षित रहेको उनले बताए।

प्रा. डा. बस्नेतले सरकारले क्षतिपूर्तिको व्यवस्था गरेकाले बर्डफ्लु पुष्टि भएका कुखुरालाई तुरुन्त नष्ट गरी बजारमा पुग्न नदिन किसानलाई आग्रह गरे। नेपालमा काँचो मासु खाने प्रचलन नरहेको कारण मानिसमा संक्रमणको जोखिम पनि न्यून रहेको उनको भनाइ छ।

यसैगरी, राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला, चितवनका प्रमुख डा. विजयकुमार श्रेष्ठले हाल चितवन र आसपासका क्षेत्रमा बर्डफ्लुको संक्रमण नरहेको जानकारी दिँदै कुखुराको मासु र अण्डा राम्ररी पकाएर निर्धक्कसँग खान सकिने बताए।

उनले किसानलाई जैविक सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गर्दै फार्ममा काम गर्दा पञ्जा, बुट, एप्रोन र मास्कजस्ता व्यक्तिगत सुरक्षा सामग्री प्रयोग गर्नुपर्ने बताए।

डा. श्रेष्ठका अनुसार कुनै फार्ममा अस्वाभाविक रूपमा कुखुरा मर्ने वा बर्डफ्लुको शंका लागेमा तत्काल परीक्षण गराउनुपर्छ। संक्रमण पुष्टि भएमा त्यहाँका कुखुरा, अण्डा र दाना बाहिर नलैजान तथा सम्बन्धित निकायलाई तत्काल जानकारी गराउन उनले आग्रह गरे।

उनले बर्डफ्लु मानिसबाट मानिसमा सहजै नसर्ने रोग भएको उल्लेख गर्दै सुरक्षित रूपमा पकाएर तयार गरिएको कुखुराको मासु र अण्डा सेवन गर्दा कुनै समस्या नहुने स्पष्ट पारे। साथै, भाइरस फार्मभित्र आफैँ उत्पन्न नहुने र बाहिरबाट भित्रिने भएकाले जैविक सुरक्षा (बायोसेक्युरिटी) नै यसको रोकथामको सबैभन्दा प्रभावकारी उपाय भएको उनको भनाइ छ।




प्रतिक्रिया