काठमाडौं । रसुवा, नुवाकोट र धादिङ जिल्लामा बुधबार बिहान आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति नेपाल भेटेरीनरी एशोसिएसनले गहिरो दुःख व्यक्त गर्दै पशुपन्छी तथा मत्स्य क्षेत्रको उद्धार र उपचारका लागि विशेष टोली परिचालन गर्ने घोषणा गरेको छ।
एशोसिएसनले बाढीमा परी ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै, बेपत्ता व्यक्तिहरूको शीघ्र सकुशल उद्धारका लागि कामना गर्दै प्रभावित क्षेत्रमा खोज तथा उद्धार, घाइतेको उपचार, राहत तथा मानवीय सहयोगलाई उच्च प्राथमिकताका साथ अघि बढाउन सरकार, सुरक्षा निकाय तथा उद्धारकर्मीहरूलाई अपिल गरेको छ।
बाढी प्रभावित क्षेत्रमा ठूलो संख्यामा पशुपन्छी तथा मत्स्यपालन हुँदै आएकाले विपद्का कारण यस क्षेत्रमा समेत ठूलो क्षति पुगेको हुन सक्ने एशोसिएसनको भनाइ छ। सम्भावित रोगको जोखिमलाई ध्यानमा राख्दै पशु उद्धार, उपचार, रोग नियन्त्रण, खोप, औषधि तथा आवश्यक पशु स्वास्थ्य सामग्रीको व्यवस्थापन तत्काल गर्नुपर्नेमा एशोसिएसनले जोड दिएको छ।
त्यसैगरी, बाढीबाट मरेका पशुपन्छीको सुरक्षित व्यवस्थापन तथा प्रभावित पशुपालकको पुनःस्थापनाका लागि आवश्यक काम अघि बढाउने जनाएको छ। यसका लागि पशु चिकित्सकसहितको विशेष टोली प्रभावित क्षेत्रमा तत्काल परिचालन गरिने एशोसिएसनले जानकारी दिएको हो।
एशोसिएसनले विपद्को यस घडीमा प्रभावित नागरिक तथा पशुपालकको पीडामा साथ दिन सम्पूर्ण पशु चिकित्सक, पशु स्वास्थ्य प्राविधिक, नेपाल सरकारका सम्बन्धित निकाय, पशु सेवा विभाग, प्रदेश तथा स्थानीय तह, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्था, पशुपन्छी तथा मत्स्य क्षेत्रका व्यवसायी र औषधि व्यवसायीलाई आह्वान गरेको छ।
पशुपन्छी तथा मत्स्यको उद्धार, उपचार, रोग नियन्त्रण, राहत र पुनःस्थापनाका लागि प्राविधिक, औषधिजन्य, आर्थिक तथा अन्य आवश्यक सहयोग उपलब्ध गराउँदै नेपाल भेटेरीनरी एशोसिएसनसँग समन्वय र सहकार्य गर्न एशोसिएसनले सबै सरोकारवालालाई आग्रह गरेको छ।
नेपाल भेटेरीनरी एशोसिएसनका महासचिव डा. शंकर न्यौपाने र अध्यक्ष डा. केदार सुवेदीद्वारा जारी अपिलमा विपद्पछि पशु स्वास्थ्यलाई पनि मानवीय राहतसँगै प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ।