चितवनमा विद्यार्थीलाई २ हजार ७३० अण्डा वितरण, अण्डाको पोषणबारे सचेतना

poultrymanchnepal.com

चितवनमा विद्यार्थीलाई २ हजार ७३० अण्डा वितरण, अण्डाको पोषणबारे सचेतना


चितवन । पशु सेवा कार्यालय चितवनको आयोजना तथा नेपाल कुखुरा व्यवसायी मञ्चको सहआयोजनामा राप्ती नगरपालिका–१० स्थित राष्ट्रिय माध्यमिक विद्यालय, समिटारका विद्यार्थीहरूलाई अण्डा वितरण गरिएको छ।


विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष भरतलाल चेपाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा पशु सेवा कार्यालय चितवनका प्रमुख डा. प्रभात न्यौपाने प्रमुख अतिथि रहनुभएको थियो। नेपाल कुखुरा व्यवसायी मञ्चका महासचिव डा. विष्णुहरि शर्मा विशिष्ट अतिथि तथा नेपाल लेयर्स कुखुरापालक सङ्घका सचिव मदन पोखरेल अतिथिका रूपमा सहभागी हुनुभएको थियो।


कार्यक्रममा नेपाल कुखुरा व्यवसायी मञ्चका कार्यकारी अधिकृत शिवप्रसाद बराल, पशु सेवा कार्यालय चितवनका कर्मचारी तथा विद्यालयका शिक्षक–शिक्षिकाको पनि सहभागिता रहेको थियो। विद्यालयका सहायक प्रधानाध्यापक दिनेश पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष भरतलाल चेपाङले स्वागत मन्तव्यसहित विद्यालयको वर्तमान अवस्था र आवश्यकताबारे जानकारी गराउनुभएको थियो।


विशिष्ट अतिथि डा. विष्णुहरि शर्माले अण्डामा पाइने उच्च गुणस्तरीय प्रोटिन, भिटामिन तथा अन्य आवश्यक पोषक तत्वबारे जानकारी दिँदै विद्यार्थीको शारीरिक तथा मानसिक विकासका लागि नियमित अण्डा सेवन आवश्यक रहेको बताउनुभयो।


प्रमुख अतिथि डा. प्रभात न्यौपानेले अण्डा प्राकृतिक रूपमा पूर्ण पोषणयुक्त खाद्यवस्तु भएकाले यसमा कुनै प्रकारको मिसावट हुन नसक्ने उल्लेख गर्दै जुनसुकै उमेर समूहका व्यक्तिले सुरक्षित रूपमा सेवन गर्न सक्ने जानकारी दिनुभयो। उहाँले पशु सेवा कार्यालय चितवनले सञ्चालन गरिरहेका विभिन्न पशुपन्छी विकास तथा जनचेतनामूलक कार्यक्रमबारे पनि जानकारी गराउनुभयो।


हाल उक्त विद्यालयमा चालु शैक्षिक वर्षका लागि ४९१ जना विद्यार्थी भर्ना भएका छन्। सो अवसरमा विद्यालयका विद्यार्थीका लागि कुल २ हजार ७३० वटा अण्डा हस्तान्तरण गरिएको आयोजकले जनाएको छ।


आयोजकका अनुसार विद्यालयस्तरमै पोषणसम्बन्धी सचेतना अभिवृद्धि गर्दै विद्यार्थीमा अण्डा सेवनको बानी विकास गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

प्रतिक्रिया