कुरिनघाट–८ इच्छाकामना गाउँपालिकामा कुखुरा पालन सम्बन्धी एक दिने विशेष तालिम सम्पन्न
ए.बी. पेलेट फिड प्रा.लि. र शाही सप्लायर्सको संयुक्त आयोजनामा “उत्कृष्ट पोषण र उत्कृष्ट उत्पादन” भन्ने उद्देश्यसहित कुखुरा पालन सम्बन्धी एक दिने विशेष व्यावसायिक तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम शाही सप्लायर्स, कुरिनघाट–८ इच्छाकामना गाउँपालिकामा आयोजना गरिएको थियो।
उक्त कार्यक्रममा करिब ६० जना किसान तथा व्यवसायीहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा ए.बी. पेलेट फिड प्रा.लि.का म्यानेजिङ डाइरेक्टर पिताम्बर सञ्जेल, पशु चिकित्सक डा. कुमार पौडेल र डा. थानेश्वर भट्ट प्रमुख प्रशिक्षकको रूपमा उपस्थित रहनुभएको थियो भने कार्यक्रम संयोजक दिपेश लामिछाने रहनुभएको थियो। साथै शाही सप्लायर्सका सञ्चालक सानुबाबु खड्गीको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै ए.बी. पेलेट फिड प्रा.लि.का म्यानेजिङ डाइरेक्टर पिताम्बर सञ्जेलले कुखुरा पालनमा तापक्रम व्यवस्थापन, हेरचाह, भेन्टिलेसन तथा खोर व्यवस्थापन अत्यन्त महत्वपूर्ण विषय भएको बताउनुभयो। उहाँले कम्पनीले सधैं गुणस्तरीय दाना उत्पादन गर्दै आएको उल्लेख गर्दै, “हामी किसानलाई एउटै गुणस्तरको दाना उपलब्ध गराउँछौं, तर कुखुराको व्यवस्थापन कमजोर हुँदा उत्पादनमा समस्या देखिन्छ। त्यसैले यस्ता तालिम किसानका लागि धेरै आवश्यक छन्,” भन्नुभयो।
त्यसैगरी शाही सप्लायर्सका सञ्चालक सानुबाबु खड्गीले किसानहरूमा तापक्रम व्यवस्थापन, ब्रुडिङ व्यवस्थापन तथा खोर व्यवस्थापन सम्बन्धी जानकारीको अभाव रहेको कारण यस्ता कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले तालिमले किसानलाई व्यावहारिक ज्ञान प्रदान गरी कुखुरा पालनलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो।
तालिममा डा. थानेश्वर भट्टले खोर व्यवस्थापन, ब्रुडिङ व्यवस्थापन, लिटर व्यवस्थापन, पानी व्यवस्थापन, भेन्टिलेसन व्यवस्थापन, लाइट व्यवस्थापन, खोर निसंक्रमण तथा सरसफाइ सम्बन्धी विस्तृत प्रशिक्षण दिनुभएको थियो।
त्यस्तै डा. कुमार पौडेलले जैविक सुरक्षा (Bio-security), विभिन्न रोगहरूको रोकथाम, खोप व्यवस्थापन तथा कुखुरामा देखिने रोग सम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गर्नुभएको थियो।
कार्यक्रमको क्रममा धेरै किसानहरूलाई कुखुराका लागि आवश्यक तापक्रम सम्बन्धी जानकारी नभएको पाइएकाले ए.बी. पेलेट फिड प्रा.लि.ले सहभागी किसानहरूलाई थर्मोमिटर समेत वितरण गरेको थियो।
कार्यक्रम संयोजक दिपेश लामिछानेले यस्ता तालिम कार्यक्रमले किसानहरूलाई आधुनिक तथा वैज्ञानिक ढंगबाट कुखुरा पालन गर्न सहयोग पुग्ने बताउनुभयो। उहाँले कम्पनीले विभिन्न स्थानमा निरन्तर यस्ता जनचेतनामूलक तथा प्राविधिक तालिम कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।
तालिममा सहभागी सबै ६० जना किसानहरूलाई एक दिने तालिम सहभागिता प्रमाणपत्र समेत वितरण गरिएको थियो। कार्यक्रम सम्पन्न भएपछि सहभागी किसानहरूले तालिम अत्यन्त उपयोगी र ज्ञानवर्धक भएको प्रतिक्रिया दिएका थिए।