बाढी–पहिरो प्रभावित क्षेत्रमा अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन दाना उद्योग संघको अपिल

poultrymanchnepal.com

काठमाडौं, १२ भदौ । नेपाल दाना उद्योग संघले बाढी तथा पहिरोबाट प्रभावित जिल्लामा राहत, उद्धार, पुनर्स्थापना र पुनर्निर्माणका कामलाई तत्काल प्राथमिकताका साथ अघि बढाउन सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेको छ।

संघले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत २०८३ भदौ १० गते सीमापारि चीनको स्वशासित क्षेत्र तिब्बतबाट अचानक आएको बाढी तथा पहिरोका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा भएको जनधन तथा अर्बौं रुपैयाँ बराबरको भौतिक र आर्थिक क्षतिप्रति दुःख व्यक्त गरेको छ।

संघले विपद्मा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइते र प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

बाढी–पहिरोका कारण प्रभावित जिल्लाहरूमा सडक, यातायात, विद्युत् र खानेपानीलगायत अत्यावश्यक सेवा प्रभावित भएको संघले जनाएको छ। संघका अनुसार २४ वटा पक्की पुल र २ वटा बेलिब्रिज पूर्ण रूपमा क्षतिग्रस्त भएपछि मानव आवतजावतसँगै दैनिक उपभोग्य वस्तु तथा अत्यावश्यक सामग्रीको आपूर्ति प्रभावित भएको छ।

विशेषगरी प्रभावित क्षेत्रमा पशुपन्छीका लागि आवश्यक दाना तथा अन्य सामग्रीको नियमित आपूर्तिमा कठिनाइ उत्पन्न भएको संघको भनाइ छ। सडक तथा यातायात अवरुद्ध हुँदा प्रभावित क्षेत्रमा उत्पादन हुने मासु, अण्डा र दूधजस्ता छिटो नष्ट हुने वस्तुको निकासीसमेत प्रभावित भएको भन्दै संघले यसबाट किसान, उद्योगी तथा व्यवसायीले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्था आएको जनाएको छ।

बाढी–पहिरोबाट घर, सडक, पुल, विद्युत्, खानेपानीलगायत भौतिक संरचनामा ठूलो क्षति पुगेको तथा कृषि, पशुपन्छी र उद्योग–व्यवसाय क्षेत्रमा समेत अर्बौं रुपैयाँ बराबरको क्षति भएको संघले उल्लेख गरेको छ।

संघले प्रभावित नागरिक, किसान, उद्यमी तथा व्यवसायीको दैनिक जीवन र आर्थिक गतिविधिलाई सामान्य अवस्थामा फर्काउन तत्काल राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ।

नेपाल सरकार तथा सम्बन्धित निकायलाई अवरुद्ध सडक तथा पुलको तत्काल मर्मत तथा पुनर्निर्माण गरी मानव आवतजावत र अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन, साथै प्रभावित उद्योग, व्यवसाय, किसान तथा पशुपन्छी क्षेत्रको पुनःस्थापनाका लागि आवश्यक सहजीकरण गर्न संघले आग्रह गरेको छ।

यसैगरी, राहत तथा पुनर्स्थापनाका कार्यमा सहयोग पुर्‍याउन संघका सम्पूर्ण सदस्य उद्योग तथा सरोकारवालालाई आर्थिक सहयोग गर्नसमेत आह्वान गरिएको छ।

नेपाल दाना उद्योग संघका अध्यक्ष उमेश चन्द्र सापकोटाद्वारा जारी विज्ञप्तिमा विपद्को यस कठिन घडीमा प्रभावित नागरिकलाई धैर्य धारण गर्न आग्रह गर्दै राहत तथा पुनर्निर्माण अभियानमा सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गरिएको छ।



प्रतिक्रिया