काठमाडौं । औषधि व्यवस्था विभागले पशुपन्छी औषधि व्यवसायी मान्यता प्रमाणपत्रका लागि लिइएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। प्रकाशित नतिजाअनुसार १४४ जना परीक्षार्थी सफल भएका छन्।
यो परीक्षा पशुपन्छी औषधि व्यवसाय सञ्चालन गर्न आवश्यक मान्यता प्राप्त गर्ने उद्देश्यले तालिम पूरा गरेका व्यक्तिहरूका लागि २०८३ असार १३ गते सञ्चालन गरिएको थियो। विभागका अनुसार परीक्षाका लागि २८४ जनाको नामावली रहेकामा २५ जना परीक्षामा अनुपस्थित भएका थिए।
विभागले सफल परीक्षार्थीहरूलाई नतिजा प्रकाशन भएको मितिदेखि ४५ दिनभित्र आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरेको छ। यसका लागि सक्कल नागरिकता, शैक्षिक योग्यताका प्रमाणपत्र तथा तिनका प्रमाणित (Notarized) प्रतिलिपि विभागमा बुझाएर व्यवसायी मान्यता प्रमाणपत्र प्राप्त गर्नुपर्नेछ।
साथै, पेश गरिएका विवरण वा कागजातमा कुनै पनि किसिमको गलत वा भ्रामक जानकारी भेटिएमा सम्बन्धित व्यक्तिको नतिजा रद्द गरिने विभागले स्पष्ट पारेको छ।
औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक किरण सुन्दर बज्राचार्य द्वारा हस्ताक्षरित सूचनामार्फत यो जानकारी सार्वजनिक गरिएको हो।