बाढीपीडित पशुपन्छी औषधि व्यवसायीलाई संघको राहत, पुनर्स्थापनामा साथ दिने प्रतिबद्धता

poultrymanchnepal.com

काठमाडौं, भदौ १९ । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित पशुपन्छी औषधि व्यवसायीहरूलाई नेपाल पशुपन्छी औषधि व्यवसायी संघले राहत तथा आर्थिक सहयोग प्रदान गरेको छ।

संघका केन्द्रीय अध्यक्ष रितेश रिमालसहित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले बाढी प्रभावित व्यवसायीहरूको अवस्था स्थलगत रूपमा बुझ्दै राहत सहयोग प्रदान गरेका हुन्।

बाढीका कारण संघका सदस्य प्रदीप भेट सेन्टरका पुरुषोत्तम पौडेलको परिवारसँग सम्पर्कविहीन हुनुका साथै पशुपन्छी औषधि पसल र घरमा समेत क्षति पुगेको संघले जनाएको छ। पौडेललाई संघले रु. १ लाख ५० हजार नगद सहयोग गरेको छ।

त्यस्तै, किसान एग्रोभेटका कृष्ण कोइरालाको घर डुबानमा परी पशुपन्छी औषधिसहित घरका सम्पूर्ण सामग्री नष्ट भएको जनाइएको छ। यसैगरी कृषक भेट मिठु एग्रोभेट र त्रिवेणी भेटका हरि प्रसाद दाहालको पशुपन्छी औषधि पसलमा रहेका सम्पूर्ण सामग्रीसमेत बाढीले बगाएको संघले जनाएको छ।

उनीहरूलाई संघले जनही रु. ५० हजारका दरले प्रारम्भिक राहत सहयोग प्रदान गरेको छ।

विपद्को समयमा आफ्ना सदस्य व्यवसायीहरूको साथमा उभिँदै संघले आर्थिक सहयोगसँगै मानवीय संवेदना र व्यवसायिक एकताको सन्देश दिएको जनाएको छ।

संघका केन्द्रीय अध्यक्ष रितेश रिमालले विपद्बाट प्रभावित व्यवसायीहरूको पुनर्स्थापना तथा व्यवसाय पुनः सञ्चालनका लागि आगामी दिनमा समेत आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

संघले विपद्बाट प्रभावित आफ्ना सदस्य व्यवसायीहरूको क्षतिको विवरण संकलन तथा आवश्यक सहयोगका लागि समन्वयलाई निरन्तरता दिने जनाएको छ।


प्रतिक्रिया