काठमाडौं , असोज २४ । नेपालमा अण्डाको उत्पादन र खपत दुवै बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । नेपालमा दैनिक करिब ३८ लाख अण्डा उत्पादन भइरहे पनि प्रतिव्यक्ति वार्षिक खपत अन्तर्राष्ट्रिय औसतभन्दा निकै कम रहेकाले अण्डाको पोषणसम्बन्धी महत्त्वबारे जनचेतना फैलाउन, विद्यालयको दिवा खाजामा समावेश गर्न र किसानलाई उत्पादनको उचित मूल्य सुनिश्चित गर्नुपर्ने उनीहरूको भनाइ छ ।
नेपालले अण्डा उत्पादनमा आत्मनिर्भर भएको घोषणा गरे पनि कुखुरापालनका लागि आवश्यक कच्चा पदार्थ, प्यारेन्ट स्टक, औषधि, खोप तथा उपकरणमा आयात निर्भरता कायम रहेको कुखुरापालन तथा पोषणविज्ञ डा. दिनेश गौतमले बताएका छन्।
विश्व अण्डा दिवस २०२६ को अवसरमा चितवनको भरतपुरमा प्रस्तुत गरिएको कार्यपत्रमा डा. गौतमले नेपालको अण्डा उद्योगको वर्तमान अवस्था, उत्पादन लागत, अन्तर्राष्ट्रिय बजारसँगको प्रतिस्पर्धा तथा अण्डाको पोषणसम्बन्धी महत्त्वबारे चर्चा गरेका हुन्।
यस वर्ष विश्व अण्डा दिवसको ३०औँ वार्षिकोत्सव मनाइएको छ। ‘Protein That Powers and Protects’ अर्थात् ‘शक्ति र सुरक्षा प्रदान गर्ने प्रोटिन’ भन्ने नाराका साथ मनाइएको दिवसले अण्डाको पोषणमूल्य र मानव स्वास्थ्यमा यसको महत्त्वलाई उजागर गरेको छ
विश्व अण्डा दिवस २०२६ को अवसरमा नेपाल लेयर्स कुखुरापालक संघले शुक्रबार चितवनमा आयोजना गरेको कार्यक्रममा सहभागीले अण्डालाई व्यावसायिक उत्पादनको विषयमा मात्र सीमित नराखी जनस्वास्थ्य र पोषणसँग जोडेर प्रवर्द्धन गर्नुपर्ने बताएका हुन् । उनीहरूले सरकारी निकाय, निजी क्षेत्र, स्वास्थ्यकर्मी तथा पोषण विज्ञबीच सहकार्य गरेर अण्डाको उपभोग बढाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा किसानले उत्पादनको उचित मूल्य पाउने वातावरण निर्माण, विद्यालयको दिवा खाजामा अण्डा समावेश, अण्डाको पोषणसम्बन्धी जानकारी जनस्तरसम्म पुर्याउने तथा बजार व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।
उत्पादन बढाउन किसान तयार, सरकारको सहयोग आवश्यक
नेपाल लेयर्स कुखुरापालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले सरकारले आवश्यक सहयोग र प्रोत्साहन उपलब्ध गराएमा अण्डाको उत्पादन बढाउन किसान तयार रहेको बताए । अण्डाको खपत बढाउने अभियानलाई व्यवसायीको व्यावसायिक हितसँग मात्र जोडेर नहेरी जनस्वास्थ्य र पोषणसँग सम्बन्धित विषयका रूपमा अघि बढाउनुपर्ने उनको भनाइ छ ।
‘अण्डा उपभोग बढाउन हामीले गर्ने आग्रहलाई व्यवसायसँग जोड्ने भएकाले सरकारी तवरबाट जे हो, त्यस विषयलाई आम जनतासम्म पुर्याइदिनुपर्छ’, पोखरेलले भने ।
उनका अनुसार अण्डाले उत्पादन लागतअनुसारको मूल्य पाउन थालेपछि कुखुरापालनमा किसानको आकर्षण बढ्दै गएको छ । किसानले उत्पादनको उचित मूल्य पाउने सुनिश्चितता भएमा थप किसान यस व्यवसायमा आकर्षित हुने र मुलुकको कुल अण्डा उत्पादन बढाउन सकिने उनले बताए ।
पोखरेलले भारतबाट भन्सार छलेर आउने अण्डा गत वैशाखदेखि रोकिएपछि नेपाली किसानले राहत महसुस गरेको पनि बताए ।
‘विद्यार्थीको दिवा खाजामा सबै दिन अण्डा खुवाउने व्यवस्था सरकारले गरेमा प्रतिअण्डा पाँच रुपैयाँ छुट दिन हामी तयार छौँ’, उनले भने ।
विद्यालयको दिवा खाजामा अण्डा समावेश गर्दा बालबालिकाको पोषणमा सुधार आउने र नेपाली अण्डाको आन्तरिक बजारसमेत विस्तार हुने संघको अपेक्षा छ ।
दैनिक ६५ देखि ७० लाख अण्डा उत्पादन गर्ने लक्ष्य
अध्यक्ष पोखरेलका अनुसार नेपालमा अहिले दैनिक करिब ३८ लाख अण्डा उत्पादन भइरहेको छ । कोभिड–१९ महामारीअघि दैनिक ६५ देखि ७० लाखसम्म अण्डा उत्पादन हुने गरेकोमा त्यसपछिको अवधिमा उत्पादन प्रभावित भएको उनले बताए ।
अब पुनः सोही स्तरको उत्पादनमा पुग्ने लक्ष्यसहित किसानलाई संगठित गर्ने, उत्पादन विस्तार गर्ने र बजार व्यवस्थापनमा सुधार ल्याउने काम भइरहेको उनको भनाइ छ ।
चार वर्षअघि करिब १२० रहेका ठूला लेयर्स कुखुरापालक किसानको संख्या अहिले बढेर १८० पुगेको पोखरेलले जानकारी दिए । यसले व्यावसायिक अण्डा उत्पादनमा किसानको सहभागिता विस्तार हुँदै गएको देखाउने उनको भनाइ छ ।
उनका अनुसार बजारमा ३० वटा अण्डाको एउटा क्यारेटको मूल्य करिब ६०० रुपैयाँ पुगेको छ । व्यवसायीले दिएको जानकारीअनुसार एउटा अण्डा उत्पादन गर्न औसत १९ रुपैयाँ १२ पैसा लागत लाग्ने गरेको छ ।
चार वर्षअघि अण्डा उत्पादन गर्ने धेरै किसान व्यवसायबाट विस्थापित भएको उल्लेख गर्दै पोखरेलले बाँकी रहेका किसान संगठित भएर बजारीकरणमा सक्रिय हुन थालेपछि उत्पादन लागतअनुसारको मूल्य पाउने अवस्था सुधार भएको बताए ।
उत्पादन लागतअनुसार मूल्य नपाउँदा किसान व्यवसायबाट पलायन हुने जोखिम रहने भएकाले सरकारले बजार व्यवस्थापन, मूल्य सुनिश्चितता र उत्पादन विस्तारमा विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ ।
नेपालमा प्रतिव्यक्ति वार्षिक ६९ अण्डा खपत
कार्यक्रममा पोषण विज्ञ डा. दिनेश गौतमले नेपालमा अण्डाको खपत अन्तर्राष्ट्रिय औसतभन्दा निकै कम रहेको तथ्यांक प्रस्तुत गरे ।
उनका अनुसार विश्वमा प्रतिव्यक्ति वार्षिक औसत १८५ वटा अण्डा खपत हुने गरेको छ । एसियामा यो संख्या १८७ र दक्षिण एसियामा ८७ रहेको छ ।
नेपालमा प्रतिव्यक्ति वार्षिक ६९ वटा अण्डा खपत हुने गरेको गौतमले बताए । उनका अनुसार भारतमा प्रतिव्यक्ति वार्षिक ११२, श्रीलंकामा १३२, बंगलादेशमा १३७, पाकिस्तानमा ४८ र अफ्रिकामा ४० वटा अण्डा खपत हुने गरेको छ ।
सन् २०१५ मा नेपालमा प्रतिव्यक्ति वार्षिक ६० वटा अण्डा खपत हुने गरेकोमा अहिले बढेर ६९ पुगेको उनले जानकारी दिए । उक्त अवधिमा अण्डाको खपत १५ प्रतिशतले बढेको र जनसंख्या वृद्धि ६ प्रतिशत रहेको उनको भनाइ थियो ।
नेपालमा अण्डाको खपत क्रमशः बढ्दै गए पनि पोषणको आवश्यकता र अन्तर्राष्ट्रिय औसतसँग तुलना गर्दा यसको उपभोग विस्तार गर्न अझै धेरै सम्भावना रहेको गौतमले बताए ।
विश्वमा सबैभन्दा बढी अण्डा उत्पादन गर्ने देश चीन र दोस्रो स्थानमा भारत रहेको उल्लेख गर्दै उनले नेपालले पनि उत्पादन क्षमता विस्तारसँगै आन्तरिक बजारमा अण्डाको खपत बढाउने नीति लिनुपर्ने बताए ।
अण्डाको उपलब्धता बढाउनु मात्र पर्याप्त नहुने भन्दै गौतमले यसको पोषणसम्बन्धी महत्त्वबारे आम नागरिकलाई जानकारी गराउने कार्यक्रमलाई पनि प्राथमिकता दिनुपर्नेमा जोड दिए । दैनिक भोजनमा अण्डालाई समावेश गर्ने बानीको विकास गर्न सके जनस्तरमा पोषण सुधार गर्न सहयोग पुग्ने उनको भनाइ थियो ।
कृषि ऐनमार्फत किसानलाई प्रोत्साहन गर्ने तयारी
कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डा. रामानन्द तिवारीले अण्डाको उत्पादन बढाउनुका साथै खपत विस्तारमा पनि सरकारले ध्यान दिनुपर्ने बताए ।
उनका अनुसार अण्डाको प्रयोग बढाउन सरकारी तवरबाट प्रचारात्मक कार्यक्रम सञ्चालन भइरहेका छन् । किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले कृषि ऐन जारी गर्ने तयारीसमेत भइरहेको उनले जानकारी दिए ।
तिवारीका अनुसार प्रस्तावित व्यवस्थामा किसानका सन्तानलाई छात्रवृत्ति, कृषि ढुवानीका साधनलाई छुट्टै नम्बर तथा किसान र उनीहरूका परिवारलाई यातायातमा छुट दिने व्यवस्थाजस्ता विषय समावेश गरिएका छन् ।
कृषि पेसालाई सम्मानजनक र आकर्षक बनाउन किसानलाई आवश्यक सुविधा तथा प्रोत्साहन उपलब्ध गराउनुपर्ने उनले बताए । किसानले उत्पादनको उचित मूल्य पाउने र बजारमा सहज पहुँच हुने वातावरण बनेमा कृषि क्षेत्रमा लगानी बढ्नुका साथै उत्पादन विस्तारमा सहयोग पुग्ने उनको भनाइ थियो ।
प्रोटिनसँगै विभिन्न पोषक तत्त्वको स्रोत अण्डा
कार्यक्रममा वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीले अण्डा प्रोटिनको स्रोत मात्र नभई शरीरको वृद्धि, विकास र समग्र स्वास्थ्यका लागि आवश्यक विभिन्न पोषक तत्त्वको महत्त्वपूर्ण स्रोत भएको बताए ।
उनका अनुसार अण्डामा उच्च गुणस्तरको प्रोटिन पाइन्छ र यो तुलनात्मक रूपमा सहजै उपलब्ध हुने खाद्य पदार्थ हो ।
‘एउटा अण्डामा करिब ६ ग्राम प्रोटिनसँगै भिटामिन ए, बी समूह, डी, ई, फोलेट, फस्फोरस, सेलेनियम र जिंकजस्ता विभिन्न पोषक तत्त्व पाइन्छन्’, अधिकारीले भने ।
अण्डाको पहेँलो भागमा पनि विभिन्न पोषक तत्त्व पाइने भएकाले त्यसलाई अनावश्यक रूपमा फाल्न नहुने उनले बताए । बालबालिकाको खानामा अण्डा समावेश गर्दा उमेरअनुसार उपयुक्त परिकार बनाएर खुवाउनुपर्ने उनको सुझाव थियो ।
अण्डाको पोषणसम्बन्धी गुणबारे पर्याप्त जानकारी नहुँदा यसको उपभोग अपेक्षाकृत कम हुन सक्ने भन्दै अधिकारीले स्वास्थ्यकर्मी, पोषण विज्ञ र सरकारी निकायले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
उत्पादन र बजारीकरणमा सहकार्य आवश्यक
कार्यक्रममा युसेक अमेरिकन सोयका कन्ट्री मार्केट लिड डा. अशेष भट्टराईले नेपालमा अण्डाको उत्पादन र बजारीकरणमा आफ्नो संस्थाले सहयोग गर्दै आएको बताए ।
उनले निजी क्षेत्र र सरकारी निकायबीच सहकार्य हुन सके अण्डाको उत्पादन बढाउन तथा बजार विस्तार गर्न सहज हुने धारणा राखे । अण्डामा पाइने पोषक तत्त्व र मानव स्वास्थ्यमा त्यसको भूमिकाबारे आम नागरिकलाई जानकारी गराउनुपर्नेमा पनि उनले जोड दिए ।
विद्यालयको दिवा खाजामा नियमित अण्डा समावेश गर्न सुझाव
कार्यक्रममा सहभागीले अण्डाको खपत बढाउन विद्यालय तहदेखि नै पोषणसम्बन्धी शिक्षा दिनुपर्ने सुझाव दिएका छन् । विद्यालयको पाठ्यक्रममा अण्डाको पोषणसम्बन्धी महत्त्व समावेश गरी विद्यार्थीलाई यसको उपयोगिताबारे जानकारी गराउनुपर्ने उनीहरूको भनाइ छ ।
त्यसैगरी विद्यालयको दिवा खाजामा नियमित रूपमा अण्डा समावेश गर्न सके बालबालिकाको पोषण सुधार हुनुका साथै नेपाली अण्डाको बजार विस्तारमा पनि सहयोग पुग्ने सहभागीले बताए ।
सरकारले विद्यालयमा अण्डा वितरणको व्यवस्था कार्यान्वयन गरेमा विद्यार्थीले पोषणयुक्त खाना पाउने र किसानले उत्पादन बढाउन प्रोत्साहन पाउने उनीहरूको धारणा थियो ।
अण्डाको उत्पादन लागतअनुसार किसानले उचित मूल्य पाउने वातावरण निर्माण गर्नुपर्ने विषय पनि कार्यक्रममा उठाइएको थियो । उत्पादन लागत बढ्ने तर बजारमा उचित मूल्य नपाउने अवस्था कायम रहेमा किसान व्यवसायबाट पलायन हुन सक्ने भएकाले मूल्य सुनिश्चितता, बजार व्यवस्थापन र सरकारी प्रोत्साहनलाई सँगसँगै अघि बढाउनुपर्नेमा सहभागीले जोड दिए ।
नेपालमा अण्डाको उत्पादन विस्तार, किसानको संरक्षण, बजार व्यवस्थापन र उपभोक्तामा पोषणसम्बन्धी चेतना अभिवृद्धि गर्न सके कृषि व्यवसायको विकाससँगै जनस्वास्थ्य सुधारमा पनि योगदान पुग्ने सरोकारवालाको निष्कर्ष छ ।