रसुवा बाढीपीडितका लागि लुम्बिनी एग्रो इन्डस्ट्रिजद्वारा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

poultrymanchnepal.com

काठमाडौं । रसुवामा आएको भीषण बाढीबाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले लुम्बिनी एग्रो इन्डस्ट्रिज प्रा.लि. ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ।

कम्पनीका सञ्चालक भानु के.सी. का अनुसार विपद्को यस दुःखद घडीमा पीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै आफ्नो सामाजिक दायित्वअन्तर्गत उक्त रकम सहयोग गरिएको हो।

रसुवामा आएको बाढीका कारण धेरै परिवार विस्थापित हुनुका साथै जनधन तथा भौतिक संरचनामा ठूलो क्षति पुगेकोप्रति दुःख व्यक्त गर्दै के.सी.ले संकटको समयमा गरिएको सानो सहयोगले पनि पीडितको जीवनमा आशा जगाउन सक्ने बताए।

“यो सहयोग ठूलो दाबी होइन, विपद्मा हाम्रो सानो जिम्मेवारी पूरा गर्ने एउटा विनम्र प्रयास मात्र हो,” उनले भने, “विपद् कसैको मात्र होइन, विपद्मा साथ दिनु हामी सबैको साझा दायित्व हो।”

लुम्बिनी एग्रो इन्डस्ट्रिजले विपद्को समयमा सबैलाई आफ्नो सामर्थ्यअनुसार सहयोग गर्न र प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा हातेमालो गर्न आग्रह गरेको छ।

कम्पनीले ‘संकटले नबोलाए पनि अघि बढौँ, सहयोगले जीवन बचाऔँ’ भन्ने मानवीय भावनाका साथ सहयोग गरिएको जनाएको छ।


प्रतिक्रिया