काठमाडौं । बर्ड फ्लुसम्बन्धी सचेतनामूलक मोबाइल रिङटोनले जनचेतना अभिवृद्धि गर्नुको सट्टा आम उपभोक्तामा अनावश्यक त्रास फैलाएर पोल्ट्री उद्योगलाई थप संकटमा पार्ने अवस्था सिर्जना भएको भन्दै नेपाल दाना उद्योग सङ्घले सम्बन्धित निकायसँग पहल गरेको जनाएको छ।
सङ्घका अनुसार आफ्नो पहलपछि नेपाल टेलिकमले बर्ड फ्लुसम्बन्धी उक्त रिङटोन हटाइसकेको छ। साथै, एनसेलबाट पनि छिट्टै रिङटोन हटाइने जानकारी प्राप्त भएको सङ्घले जनाएको छ।
सङ्घले बर्ड फ्लुबारे सही सूचना र प्रभावकारी जनचेतना आवश्यक रहेको स्वीकार गर्दै त्यसका लागि प्रयोग गरिने सन्देश र प्रस्तुतीकरण सन्तुलित तथा तथ्यमा आधारित हुनुपर्नेमा जोड दिएको छ। त्रासपूर्ण सन्देशले उपभोक्तामा अनावश्यक भय सिर्जना गर्दा कुखुराको मासु र अण्डाको उपभोग घट्ने तथा त्यसको प्रत्यक्ष असर पोल्ट्री उद्योगमा पर्ने सङ्घको भनाइ छ।
सङ्घका अनुसार पछिल्ला दिनमा यस्ता सन्देशका कारण पोल्ट्री व्यवसायी, किसान तथा दाना उद्योगसमेत आर्थिक रूपमा थप प्रभावित हुने जोखिम बढेको भन्दै जनस्वास्थ्य र उद्योग दुवैको हितलाई ध्यानमा राखेर सचेतनामूलक अभियान सञ्चालन गर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ।