काठमाडौं। नेपाल पशुपन्छी औषधि व्यवसायी संघले आफ्नो १५औँ राष्ट्रिय महाधिवेशन तथा ३५औँ वार्षिक साधारण सभा आगामी २०८३ साल मंसिर २५ र २६ गते काठमाडौंमा आयोजना गर्ने भएको छ। लामो समयदेखि प्रतिक्षामा रहेको महाधिवेशनबाट संघको नयाँ केन्द्रीय नेतृत्व चयन गरिनेछ।
संघका अनुसार हाल महाधिवेशनको तयारी तीव्र रूपमा अघि बढाइएको छ। देशभर रहेका प्रतिनिधिहरूको सहभागितामा हुने महाधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व निर्वाचित गर्नुका साथै संघको भावी नीति, कार्यक्रम तथा व्यवसायिक रणनीतिमाथि छलफल गर्नेछ।
संघको विधानअनुसार महाधिवेशन गत वर्षभित्रै सम्पन्न हुनुपर्ने भए पनि सदस्यता अद्यावधिक, देशव्यापी जेनेजी आन्दोलन तथा अन्य प्राविधिक कारणका कारण निर्धारित समयमा आयोजना हुन सकेको थिएन। यसले व्यवसायीहरूबीच महाधिवेशन छिटो सम्पन्न गरी नेतृत्व हस्तान्तरण गर्नुपर्ने मागलाई बल दिएको थियो।
संघका अध्यक्ष रितेश रिमालले आवश्यक सबै तयारी पूरा भएकाले अब तोकिएको मितिमै महाधिवेशन सम्पन्न हुने विश्वास व्यक्त गरेका छन्।
हाल संघमा देशभरका करिब १,८०० पशुपन्छी औषधि व्यवसायी आबद्ध रहेका छन्। महाधिवेशनले व्यवसायीहरूको हकहित, संस्थागत सुदृढीकरण तथा पशुपन्छी औषधि व्यवसायलाई थप व्यवस्थित बनाउने विषयमा महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।
यसैबीच, नेपाल पशुपन्छी औषधि व्यवसायी संघ, बागमती जिल्ला शाखाले आगामी साउन ८ गते काठमाडौंको क्वालिटी प्यालेस, स्वयम्भूमा दोस्रो जिल्ला अधिवेशन आयोजना गर्ने भएको छ। शाखाले कार्यक्रमको समाचार सम्प्रेषणका लागि सञ्चारमाध्यमलाई औपचारिक निमन्त्रणा समेत दिएको छ।