काठमाडौं । भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि निजी क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी छ। यसैक्रममा लमही नगरपालिका–८ स्थित राप्ती फिड इण्डष्ट्रिज प्रालिले ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले उक्त रकम प्रदान गरेको हो। प्रालिका अध्यक्ष लिलाराम खनालले बाढी तथा पहिरोबाट प्रभावित पीडितहरूको कठिन अवस्थामा केही राहत पुगोस् भन्ने उद्देश्यले संस्थाको तर्फबाट आर्थिक सहयोग गरिएको जानकारी दिनुभयो।
भोटेकोसी बाढी तथा पहिरोका कारण प्रभावित क्षेत्रमा ठूलो क्षति पुगेपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारी निकायसँगै विभिन्न संघसंस्था, उद्योगी–व्यवसायी तथा व्यक्तिहरूले सहयोग गरिरहेका छन्।
अध्यक्ष खनालले प्राकृतिक विपत्तिको समयमा पीडित नागरिकको सहयोग गर्नु सबैको सामाजिक तथा मानवीय दायित्व भएको बताउनुभयो। राप्ती फिड इण्डष्ट्रिजले पनि यही दायित्वअन्तर्गत राहत अभियानमा योगदान पुर्याएको जनाएको छ।
बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूलाई तत्काल राहत उपलब्ध गराउनुका साथै दीर्घकालीन पुनःस्थापनाका लागि समेत ठूलो स्रोत आवश्यक पर्ने अवस्थामा निजी क्षेत्रबाट भइरहेको सहयोगले राहत अभियानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
भोटेकोसी बाढीपछि प्रभावित नागरिकका लागि देशका विभिन्न स्थानबाट सहयोग जुट्ने क्रम बढिरहेको छ। उद्योग तथा व्यवसायिक क्षेत्रले विपद्को समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै राहत तथा पुनःस्थापना अभियानमा हातेमालो गरिरहेका छन्।
राप्ती फिड इण्डष्ट्रिज प्रालिको ५ लाख रुपैयाँ सहयोग पनि सोही मानवीय अभियानको एक महत्वपूर्ण योगदानका रूपमा रहेको छ।