एसियन फिड्सद्वारा बाढीपीडितका लागि ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग

poultrymanchnepal.com

काठमाडौं । रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनरुत्थानका लागि एसियन फिड्स प्रालिले ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ।

एसियन फिड्स प्रालिले बाढीबाट प्रभावित नागरिकलाई राहत तथा पुनर्स्थापना गर्न सरकारद्वारा सञ्चालित अभियानलाई सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु. ११,११,१११ सहयोग गरेको जनाएको छ।

कम्पनीले बाढीका कारण धेरै परिवारले आफ्नो घर, जीविकोपार्जन तथा सुरक्षाको भावना गुमाउनुपरेकोप्रति दुःख व्यक्त गर्दै विपद्को कठिन समयमा प्रभावित समुदायलाई सहयोग गर्नु सामूहिक जिम्मेवारी भएको जनाएको छ।

एसियन फिड्सले आफ्नो योगदान प्रभावित समुदायले भोगेको क्षतिको तुलनामा सानो हुन सक्ने भए पनि कठिन समयमा गरिने सहयोगले अर्थपूर्ण प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ।

कम्पनीले उद्योग क्षेत्रका अन्य दाना उत्पादक तथा व्यवसायीहरूलाई पनि विपद्बाट प्रभावित नागरिकको राहत र पुनर्स्थापनाका लागि सरकारको प्रयासमा साथ दिन आग्रह गरेको छ।

“उद्योगको शक्ति केवल आर्थिक योगदानमा मात्र नभई समाजलाई सबैभन्दा बढी आवश्यकता परेको समयमा एकजुट भएर उभिने र सहयोग गर्ने इच्छाशक्तिमा पनि झल्किन्छ,” कम्पनीले जनाएको छ।

एसियन फिड्स प्रालिले आगामी दिनमा पनि अर्थपूर्ण सामाजिक पहललाई निरन्तरता दिँदै आफूले सेवा गर्ने समुदायको कल्याण तथा दिगो विकासमा योगदान गर्ने प्रतिबद्धता जनाएको छ।


प्रतिक्रिया