बर्ड फ्लु जोखिमबीच नेपाल भेटेरिनरी एशोसिएसनद्वारा २४सै घण्टा निःशुल्क हटलाइन सेवा पुनः सञ्चालन
काठमाडौं। काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा बर्ड फ्लुको संक्रमण पुष्टि भएपछि नेपाल भेटेरिनरी एशोसिएसन (NVA) ले २४सै घण्टा सञ्चालन हुने निःशुल्क हटलाइन तथा टेलि-परामर्श सेवा पुनः सञ्चालनमा ल्याएको छ।
पोल्ट्री क्षेत्र, पशु स्वास्थ्य तथा जनस्वास्थ्यको सुरक्षालाई प्राथमिकतामा राख्दै सुरु गरिएको यस सेवामार्फत किसान, पोल्ट्री व्यवसायी तथा सर्वसाधारणलाई बर्ड फ्लुसम्बन्धी सही सूचना, वैज्ञानिक परामर्श तथा आपत्कालीन प्राविधिक सहयोग उपलब्ध गराइने एशोसिएसनले जनाएको छ।
सर्वसाधारणले टोल-फ्री नम्बर ११५९ मा सम्पर्क गरी निःशुल्क सेवा लिन सक्नेछन्। हटलाइनमा पोल्ट्री विज्ञान, पक्षी रोग, महामारी विज्ञान तथा पशु स्वास्थ्य क्षेत्रमा अनुभवी भेटेरिनरी चिकित्सकहरू स्वयंसेवी रूपमा आबद्ध छन्।
नेपाल भेटेरिनरी एशोसिएसनका अध्यक्ष डा. केदार सुवेदी ले बर्ड फ्लुबारे फैलिने अफवाहमा विश्वास नगर्न आग्रह गर्दै किसान, व्यवसायी तथा उपभोक्तालाई आधिकारिक सूचना र विशेषज्ञको परामर्श लिन तथा हटलाइन सेवाको अधिकतम उपयोग गर्न अनुरोध गरेका छन्।
एशोसिएसनका महासचिव डा. शंकर न्यौपाने का अनुसार भविष्यमा यो हटलाइनलाई सबै प्रकारका पशुधनका लागि राष्ट्रियस्तरको आकस्मिक पशु चिकित्सा टेलिमेडिसिन सेवाका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य राखिएको छ।
हटलाइनमार्फत बर्ड फ्लुसम्बन्धी आधिकारिक तथा वैज्ञानिक जानकारी, शंकास्पद लक्षण देखिएका पन्छीबारे प्रारम्भिक प्राविधिक परामर्श, रोगको सूचना प्रवाह, सरकारी निकायसँग समन्वयका लागि मार्गदर्शन, मासु तथा अण्डाको सुरक्षित उपभोगसम्बन्धी सुझाव तथा ‘एक स्वास्थ्य’ (One Health) अवधारणाबारे जनचेतना प्रदान गरिनेछ।
एशोसिएसनले पशु स्वास्थ्य र जैविक सुरक्षा नै मानव स्वास्थ्यको आधार भएको उल्लेख गर्दै फार्महरूमा जैविक सुरक्षा (बायोसेक्युरिटी) का उपायहरू कडाइका साथ अपनाउन आग्रह गरेको छ। बिरामी वा मरेका पन्छीलाई खाली हातले नछुन, असामान्य लक्षण देखिएमा वा अचानक धेरै पन्छी मरेमा तुरुन्त नजिकको पशु सेवा कार्यालय वा हटलाइन ११५९ मा जानकारी गराउन पनि अनुरोध गरिएको छ।
साथै, उपभोक्तालाई कुखुराको मासु र अण्डा राम्ररी पकाएर मात्र उपभोग गर्न, रोगी वा शंकास्पद पक्षीको अनधिकृत ओसारपसार नगर्न तथा पशु सेवा विभागबाट जारी गरिएका निर्देशनहरूको पूर्ण पालना गर्न एशोसिएसनले विशेष आग्रह गरेको छ।
बर्ड फ्लु नियन्त्रणका लागि सरकार, भेटेरिनरी प्राविधिक, किसान, पोल्ट्री व्यवसायी, सञ्चारमाध्यम तथा उपभोक्ताबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको एशोसिएसनले जनाएको छ।