चितवन । चितवनस्थित राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षमा करिब ७ हजार कुखुराको पोष्टमार्टम गरी विभिन्न रोगको पहिचान गरेको छ। चितवनसहित १६ जिल्लाबाट ल्याइएका कुखुराको पोष्टमार्टम तथा नमुना परीक्षणमार्फत प्रयोगशालाले कुखुरामा देखिएका विभिन्न रोग पहिचान गरेको हो।
प्रयोगशालाका प्रमुख डा. विजयकुमार श्रेष्ठका अनुसार पोष्टमार्टम गरिएका कुखुरामा विभिन्न प्रकारका सङ्क्रामक तथा अन्य रोग देखिएका छन्। पोष्टमार्टमसँगै प्रयोगशालाले कुखुराको नमुना परीक्षण गरी रोग पहिचान तथा उपचारका लागि आवश्यक प्राविधिक सुझावसमेत दिँदै आएको छ।
प्रयोगशालामा १ हजार ५०० कुखुराको नमुना परीक्षण गर्दा १० प्रकारका रोग पहिचान भएका छन्। परीक्षणमा २२ प्रतिशतमा इकोलाई, १३ प्रतिशतमा गम्बारो र ९ प्रतिशतमा सीआरडी देखिएको डा. श्रेष्ठले जानकारी दिए।
त्यस्तै, ढुसीजन्य रोग ९ प्रतिशत, सीसीआरडी ४ प्रतिशत र साल्मोनेलोसिस ३.५ प्रतिशत मा देखिएको छ। यसबाहेक एभियन इन्फ्लुएन्जा, कुखुराको हैजा, आईबी तथा रानीखेत रोगको सङ्क्रमणसमेत पुष्टि भएको प्रयोगशालाले जनाएको छ।
द्रुत परीक्षणअन्तर्गत २७८ नमुना परीक्षण गर्दा ४७ वटामा एभियन इन्फ्लुएन्जा सङ्क्रमण भेटिएको छ। यस्तै, १७६ वटा गम्बारो परीक्षण गर्दा १०९ वटामा सङ्क्रमण देखिएको छ। ९९ वटा रानीखेत परीक्षण गर्दा ७ वटा र ४६ वटा आईबी परीक्षण गर्दा २ वटामा सङ्क्रमण पुष्टि भएको डा. श्रेष्ठले बताए।
पिएटी विधिबाट ३६९ नमुना परीक्षण गर्दा १२ वटामा साल्मोनेला देखिएको छ। ३६० नमुना परीक्षणमा १६ वटामा माइकोप्लाज्मा तथा १८४ वटा नमुनाको एलाइजा परीक्षण गर्दा ३८ वटामा माइकोप्लाज्मा सङ्क्रमण देखिएको प्रयोगशालाले जनाएको छ।
त्यसैगरी, १८४ नमुना परीक्षण गर्दा ९२ वटामा चिकेन इन्फेक्सस एनेमिया भाइरस (CIAV) सङ्क्रमण भेटिएको छ। ९ सय कुखुराको नमुना कल्चर गर्दा ७८९ नमुनामा सङ्क्रमण देखिएको डा. श्रेष्ठले जानकारी दिए।
सङ्क्रमण पुष्टि भएका नमुनाका आधारमा कुन प्रकारको एन्टिबायोटिक प्रयोग गर्ने भन्नेबारे सेवाग्राहीलाई आवश्यक प्राविधिक जानकारी उपलब्ध गराउँदै आएको उनले बताए।
कुखुरामा रोगको सङ्क्रमण रोक्न जैविक सुरक्षा (Biosecurity) अत्यन्त महत्वपूर्ण रहेको डा. श्रेष्ठको भनाइ छ। फार्ममा जैविक सुरक्षा मापदण्ड पालना नगर्दा रोग भित्रिने तथा फैलिने जोखिम उच्च हुने भएकाले किसानले सरसफाइ, फार्म प्रवेश नियन्त्रण, उपकरण तथा सवारीसाधनको डिसइन्फेक्सन र रोगी पक्षीको उचित व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने उनले बताए।