काठमाडौं। पशुपन्छी तथा दानाजन्य उत्पादनको क्षेत्रमा सक्रिय श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेडले उपभोक्ताको स्वास्थ्यलाई केन्द्रमा राख्दै कपिलवस्तुको बाणगंगा नगरपालिका–४, जितपुरमा आधुनिक ‘स्मार्ट फ्रेस हाउस’ सञ्चालनमा ल्याएको छ।
स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु उपभोक्तासम्म पुर्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको फ्रेस हाउसको बाणगंगा नगरपालिका पशु शाखाका प्रमुख ध्रुव ज्ञवालीले उद्घाटन गर्नुभयो।
उद्घाटन कार्यक्रममा ज्ञवालीले सरकारले पशु वध तथा मासु बिक्री–वितरणसँग सम्बन्धित मापदण्ड र वधशाला सञ्चालन कार्यविधिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न थालेको बताउनुभयो। उहाँका अनुसार बाणगंगा नगरपालिकामा पनि आगामी माघदेखि उक्त व्यवस्था प्रभावकारी रूपमा लागू गर्ने तयारी भइरहेको छ।
बाणगंगा नगरपालिकाको पशु शाखाका डा. यमलाल पोखरेलले स्वच्छ तथा स्वस्थकर मासु उपलब्ध गराउने उद्देश्यले सञ्चालन हुने फ्रेस हाउसलाई राज्य तथा स्थानीय तहले आवश्यक सहयोग र प्रोत्साहन गर्नुपर्ने बताउनुभयो।
उहाँले फ्रेस हाउसहरू निर्धारित मापदण्डअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिँदै स्वच्छ र स्वस्थकर मासु उपभोग गर्ने वातावरण निर्माण गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो।
“स्वस्थकर मासु उपभोग गर्ने वातावरण निर्माण गर्नु अहिलेको आवश्यकता हो,” उहाँले भन्नुभयो, “फ्रेस हाउसलाई मापदण्डमा ल्याउने अभियानको सुरुवात श्रीनगरले गरेको छ।”
बजारमा मासु बिक्री हुने गरे पनि उत्पादन, प्रशोधन, सरसफाइ र भण्डारणको अवस्थाबारे उपभोक्ता अनभिज्ञ रहने गरेको अवस्थामा आधुनिक फ्रेस हाउसको अवधारणाले उपभोक्ताको स्वास्थ्य सुरक्षामा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
‘किसानको बालीदेखि उपभोक्ताको थालीसम्म’
श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेडका टेक्निकल हेड डा. गिरीराज खनालले ‘किसानको बालीदेखि उपभोक्ताको थालीसम्म’ भन्ने अवधारणालाई व्यवहारमा उतार्ने उद्देश्यले स्मार्ट फ्रेस हाउस सञ्चालनमा ल्याइएको बताउनुभयो।
कम्पनीका उत्पादनलाई व्यवस्थित रूपमा उपभोक्तासम्म प्रत्यक्ष पुर्याउने योजनाअन्तर्गत फ्रेस हाउस सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो। फ्रेस हाउसमा सरकारी मापदण्डअनुसार स्वस्थकर मासु बिक्रीका लागि आवश्यक व्यवस्थाहरू सुनिश्चित गरिएको उहाँको भनाइ छ।
“किसानले उत्पादन गरेको वस्तु गुणस्तरीय रूपमा उपभोक्ताको भान्सासम्म पुर्याउनु हाम्रो मुख्य उद्देश्य हो,” खनालले भन्नुभयो, “उत्पादनदेखि बिक्रीसम्म स्वच्छता र गुणस्तरलाई प्राथमिकतामा राखेका छौँ।”
फ्रेस हाउसमा उपभोक्ताको मागअनुसार कुखुराका विभिन्न ‘बडी पार्ट’ उपलब्ध गराउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ। यसबाट उपभोक्ताले आफूलाई आवश्यक पर्ने मासुको भाग छनोट गर्न सहज हुने बताइएको छ।
सामान्य पोल्ट्री फार्मबाट २४ वर्षको यात्रा
श्रीनगरको व्यावसायिक यात्रा करिब २४ वर्षअघि सामान्य पोल्ट्री फार्मबाट सुरु भएको कम्पनीले जनाएको छ। दुई–चार हजार कुखुराबाट सुरु भएको व्यवसाय अहिले पश्चिम नेपालमा पोल्ट्री तथा फिड क्षेत्रमा स्थापित ब्रान्डका रूपमा अघि बढेको कम्पनीको दाबी छ।
कम्पनीका अनुसार हाल पाँच हजारभन्दा बढी कृषक, व्यवसायी तथा उद्यमी श्रीनगरसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका छन्।
फार्म, पशुपालन तथा फिडजन्य उत्पादनमा आफ्नो पहिचान स्थापित गरेपछि कम्पनीले आफ्ना उत्पादनलाई उपभोक्तासम्म प्रत्यक्ष रूपमा पुर्याउने योजनालाई समेत अघि बढाएको हो।
दाना उद्योगदेखि ह्याचरी र ब्रिडर फार्मसम्म
श्रीनगरले रूपन्देहीको शुद्धोधन नगरपालिका–४ मा पौने दुई बिघा क्षेत्रफलमा दाना उद्योग सञ्चालन गरिरहेको जनाएको छ। सोही क्षेत्रमा पौने तीन बिघामा ह्याचरी तथा फार्म र थप पौने चार बिघा क्षेत्रफलमा व्यावसायिक फार्म सञ्चालनमा रहेको कम्पनीले जनाएको छ।
त्यस्तै, पाल्पाको तेल्घामा २३ रोपनी क्षेत्रफलमा ब्रिडर फार्म सञ्चालनमा रहेको छ। बुटवलमा मासु प्रशोधन उद्योगसहित खाद्य क्षेत्रमा समेत नयाँ योजनाका साथ कम्पनी अगाडि बढिरहेको बताइएको छ।
पश्चिम नेपालमा पोल्ट्री क्षेत्रमा आफ्नो पहिचान बनाएको श्रीनगरले अब उत्पादनमा मात्र सीमित नभई प्रत्यक्ष उपभोक्ता बजारमा प्रवेश गर्दै स्वच्छ, स्वस्थ र गुणस्तरीय मासुको पहुँच विस्तार गर्ने रणनीति अघि बढाएको छ।