नयाँ बर्ड फ्लु संक्रमण शून्य बर्ड फ्लू नियन्त्रण उलेख्य प्रगति

poultrymanchnepal.com

काठमाडौं । श्रावण–७ | विशेष रिपोर्ट


नेपालमा विगत केही महिना देखि फैलिएको बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) संक्रमण हाल नियन्त्रण उन्मुख देखिएको छ। पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा. मुकुल उपाध्यायका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को साउन १ गतेयता देशका कुनै पनि स्थानमा बर्ड फ्लुको नयाँ संक्रमण पुष्टि भएको छैन।


उनका अनुसार विभिन्न जिल्लाबाट शंकास्पद नमुनाहरू नियमित रूपमा केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षणका लागि आइरहेका छन्। हालसम्म परीक्षण गरिएका सबै नमुनाको नतिजा नेगेटिभ आएको छ, जसले संक्रमण नियन्त्रणमा आएको स्पष्ट संकेत दिएको उनले बताए।


विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार २०८२ पुस ६ गतेदेखि २०८३ असार ३२ गतेसम्म नेपालका ११ जिल्लामा बर्ड फ्लु संक्रमण पुष्टि भएको थियो। संक्रमण देखिएका जिल्लामा सुनसरी, मोरङ, झापा, काठमाडौं, चितवन, नवलपरासी, बारा, महोत्तरी, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक रहेका छन्।


बर्ड फ्लुको पहिलो संक्रमण २०८२ पुस ४ गते मोरङको सुन्दरहरैंचा नगरपालिका–८ र उर्लाबारी नगरपालिका–८ मा पुष्टि भएको थियो। संक्रमण कमर्सियल लेयर्स , प्यारेन्ट, कमर्सियल ब्रोइलर, स्थानीय कुखुरा, टर्की, कालिज लगायतका पक्षीमा देखिएको विभागले जनाएको छ।


११९ स्थानमा संक्रमण, काठमाडौं उपत्यकामा पूर्ण नियन्त्रण


काठमाडौं उपत्यकाका ९२ स्थान (काठमाडौं–३२, ललितपुर–१५ र भक्तपुर–४५) तथा काभ्रेपलाञ्चोकका २७ स्थानमा संक्रमण भेटिएको थियो।


हाल भने काठमाडौं उपत्यकासहित काभ्रेपलाञ्चोकमा पनि बर्ड फ्लु पूर्ण रूपमा नियन्त्रणमा आइसकेको विभागले जनाएको छ। साथै, काठमाडौं उपत्यकाका तीन जिल्लामा संक्रमण देखिएका सबै फार्म मध्ये ललितपुरका फार्मबाट असार २५ गतेपछि नयाँ संक्रमण पुष्टि भएको छैन।


८:लाखभन्दा बढी कुखुरा, ११ लाखभन्दा बढी अण्डा नष्ट


संक्रमण नियन्त्रणका क्रममा देशभर ८लाख ३५ हजार ८ सय ६३ वटा कुखुरा नष्ट गरिएको छ। त्यसैगरी ११ लाख ६५ हजार ६ सय ६३ वटा अण्डा, २ लाख ४५ हजार ४५ केजी दाना तथा ठूलो परिमाणमा कुखुराजन्य सामग्री पनि नष्ट गरिएको विभागले जनाएको छ।


केवल काठमाडौं उपत्यका र काभ्रेपलाञ्चोकमा मात्रै ३ लाख ३७ हजार ८ सय ३५ वटा कुखुरा नष्ट गरिएको तथ्याङ्कमा उल्लेख छ।


राहत वितरण जारी, ५० करोडभन्दा बढी किसानको खातामा


संक्रमणबाट प्रभावित किसानलाई राहत उपलब्ध गराउन सरकारले ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। विभागका अनुसार हालसम्म १०४ जना किसान तथा फार्म सञ्चालकको खातामा ५०करोड ७१ लाख १५ हजार ७ सय ४ रुपैयाँ २५ पैसा राहत रकम उपलब्ध गराइसकिएको छ। बाँकी राहत वितरण प्रक्रिया पनि जारी रहेको विभागले जनाएको छ।


सावधानी कायमै राख्न आग्रह


डा. मुकुल उपाध्यायले सरकारले सञ्चालन गरेको सक्रिय निगरानी, बायोसेक्युरिटीका उपायहरूको प्रभावकारी कार्यान्वयन तथा किसान र सरोकारवालाको सहकार्यका कारण संक्रमण नियन्त्रणमा आउन सफल भएको बताए। यद्यपि बर्ड फ्लुको जोखिम पूर्ण रूपमा समाप्त नभएकाले सतर्कता कायमै राख्नुपर्नेमा उनले जोड दिए।


उनले किसानलाई फार्ममा बायोसेक्युरिटीका मापदण्ड कडाइका साथ पालना गर्न, शंकास्पद लक्षण देखिएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन तथा अनधिकृत रूपमा चल्ला, कुखुरा तथा कुखुराजन्य सामग्रीको ओसारपसार नगर्न आग्रह गरेका छन्।


विभागले उपभोक्तालाई पनि कुखुराको मासु र अण्डा राम्रोसँग पकाएर मात्र सेवन गर्न, आधिकारिक निकायबाट जारी स्वास्थ्य तथा पशु स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न तथा अफवाह भन्दा आधिकारिक सूचनामा विश्वास गर्न अनुरोध गरेको छ।



प्रतिक्रिया