काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले पोल्ट्री क्षेत्रका समसामयिक समस्या तथा चुनौतीका विषयमा कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय गीता चौधरीज्यूसँग भेटघाट तथा छलफल गरेको छ।
२०८३ साउन २८ गते मन्त्रालयमा भएको भेटघाटका क्रममा संघका प्रतिनिधिहरूले नेपालको अर्थतन्त्रमा पोल्ट्री क्षेत्रले पुर्याउँदै आएको योगदानबारे मन्त्रीसमक्ष जानकारी गराएका थिए। पोल्ट्री व्यवसाय स्वदेशी पुँजी परिचालन, रोजगारी सिर्जना तथा आम नागरिकको पोषण सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको संघले जनाएको छ।
छलफलका क्रममा पोल्ट्री व्यवसायमा प्रयोग हुने प्रमुख कच्चापदार्थ आयात गर्दा लाग्ने कृषि सुधार शुल्क तथा भन्सार, विद्युत महसुलमा लाग्दै आएको मूल्य अभिवृद्धि कर (VAT) लगायतका विषयमा संघले सरकारको ध्यानाकर्षण गराएको थियो।
त्यसैगरी, देशका खुला सीमा नाकाबाट हुने अवैध रूपमा आयात हुने पोल्ट्रीजन्य वस्तुहरू अण्डा, चल्ला, जिउँदो कुखुरा तथा तयारी मासु पोल्ट्री क्षेत्रका लागि गम्भीर चुनौतीका रूपमा रहेको संघले जनाएको छ। यस्ता अवैध आयातका कारण स्वदेशी व्यवसायी तथा किसान प्रत्यक्ष रूपमा प्रभावित भइरहेको भन्दै समस्या समाधानका लागि तत्काल पहल गर्न संघले आग्रह गरेको थियो।
संघले उठाएका विषयमा कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीज्यू सकारात्मक देखिनुभएको र पोल्ट्री क्षेत्रमा लाग्दै आएको मूल्य अभिवृद्धि कर खारेजी तथा अवैध आयात नियन्त्रणका लागि तत्काल पहल गर्ने आश्वासन दिनुभएको जनाएको छ।
प्रतिनिधि सभा सदस्य एवं राज्य व्यवस्था तथा सुशासन समितिका सभापति माननीय हरि ढकालज्यूको समन्वयमा भएको उक्त भेटघाट कार्यक्रममा नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष बिनोद पोखरेल, उपाध्यक्ष ज्योतेन्द्र श्रेष्ठ, अमोद खनाल, महासचिव भेषराज अर्याल, सल्लाहकार सुनिल कुमार शाक्य तथा व्यवसायी राजन पियाको सहभागिता रहेको थियो।
संघका अनुसार मन्त्रीसँग भएको छलफल अत्यन्त प्रभावकारी रहेको र उठाइएका विषयहरू कार्यान्वयनका लागि आजैदेखि आवश्यक पहल गर्ने विषयमा मन्त्रीबाट आश्वस्त पारिएको छ।
पोल्ट्री क्षेत्रलाई आत्मनिर्भर तथा दिगो बनाउन सरकार, व्यवसायी र किसानबीच सहकार्य आवश्यक रहेको भन्दै संघले आगामी दिनमा पनि नीतिगत सुधार तथा व्यवसायमैत्री वातावरण निर्माणका लागि निरन्तर पहल गर्ने जनाएको छ।