काठमाडौं, १८ भदौ । नेपाल ह्याचरी उद्योग संघले रसुवा बाढी प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग गरेको छ।
संघका अध्यक्ष राजेन्द्र लामिछानेले रसुवा बाढीपछि राहत तथा उद्धारका लागि सरकारले आर्थिक सहयोगको आह्वान गरेपछि संघले कोषमा १० लाख रुपैयाँ सहयोग गरेको बताउनुभयो।
चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, धादिङ, नुवाकोट, गोरखा लगायतका जिल्लामा भएको अकल्पनीय मानवीय तथा भौतिक क्षतिप्रति अध्यक्ष लामिछानेले दुःख व्यक्त गर्नुभयो। उहाँले विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो।
“हामी नेपालको इतिहासमै त्रासदीपूर्ण घटनामा परी ज्यान गुमाएका नागरिकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दछौं,” अध्यक्ष लामिछानेले भन्नुभयो।
संघले भूकम्पलगायतका प्राकृतिक विपत्तिका समयमा समेत राहत तथा उद्धारका लागि सहयोग गर्दै आएको अध्यक्ष लामिछानेले बताउनुभयो। व्यवसायसँगै राष्ट्रमा परेको विपत्तिमा निजी क्षेत्रले पनि आफ्नो सामाजिक दायित्व निर्वाह गर्नुपर्ने भएकाले संघले आफ्नो तर्फबाट थोरै भए पनि सहयोग गरेको उहाँको भनाइ छ।
त्यस्तै, संघका उपाध्यक्ष ज्ञानबहादुर बिसुरालले बाढी तथा पहिरोबाट ठूलो मानवीय क्षति भएको बताउनुभयो। उहाँका अनुसार हालसम्म करिब १ हजार ५ सय मानिसको ज्यान गएको, करिब ५ हजार मानिस सम्पर्कविहीन रहेको तथा दशौं हजार मानिस घरबारविहीन भएको अवस्था छ। हजारौं मानिस घाइते तथा अंगभंग भएको उहाँले बताउनुभयो।
बाढीका कारण सयौं पोल्ट्री व्यवसाय तथा फार्मसमेत प्रभावित भएका छन्। पोल्ट्री फार्म तथा व्यवसायमा भएको क्षतिका कारण व्यवसायीहरूले करोडौं रुपैयाँ बराबरको आर्थिक नोक्सानी व्यहोर्नुपरेको उपाध्यक्ष बिसुरालले बताउनुभयो।
बाढीपहिरोबाट प्रत्यक्ष प्रभावितहरूको उद्धार, घाइतेहरूको उपचार, घरबारविहीनका लागि बास तथा खानपानको व्यवस्था र विस्थापित व्यवसायीका समस्या सम्बोधन गर्न राज्यको प्रमुख दायित्वमा सहयोग पुर्याउने उद्देश्यले स्वदेश तथा विदेशबाट सहयोग जुटिरहेको अवस्थामा नेपाल ह्याचरी उद्योग संघले पनि आफ्नो तर्फबाट सहयोग गरेको उहाँले बताउनुभयो।
संघले विपद्का बेला प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग गर्नु निजी क्षेत्रको सामाजिक दायित्व भएको जनाएको छ।