भारतीय कुखुरा तस्करीविरुद्ध किसान सडकमा, माइतीघरमा चर्कियो प्रदर्शन

poultrymanchnepal.com


काठमाडौं । भारतीय कुखुरा तथा चल्लाको अवैध तस्करी नियन्त्रण गर्नुपर्ने माग गर्दै देशभरका पोल्ट्री किसान काठमाडौंको माइतीघरमा सडकमा उत्रिएका छन्। नेपाली किसानले उत्पादन गरेको कुखुराले लागतअनुसारको मूल्य नपाइरहेको अवस्थामा भारतबाट अवैध रूपमा भित्रिने कुखुरा तथा चल्लाले बजारमा थप समस्या सिर्जना गरेको किसानहरूको गुनासो छ।

प्रदर्शनमा सहभागी किसानहरूले कुखुराको मूल्य निर्धारण प्रक्रियामा किसानको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्नुपर्ने माग गरेका छन्। उत्पादन लागत, बजार जोखिम र किसानको लगानीलाई आधार बनाएर न्यूनतम समर्थन मूल्य तोक्नुपर्ने उनीहरूको जोड छ। साथै, किसान र उपभोक्ताबीचको मूल्य अन्तर बढाउने बिचौलियाको प्रभाव नियन्त्रण गर्नुपर्ने मागसमेत गरिएको छ।

किसानहरूले ह्याचरीबाट चल्ला खरिद गर्दा तोकिएको मूल्यभन्दा बढी रकम तिर्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकारसँग माग गरेका छन्। चल्लाको मूल्य, गुणस्तर र आपूर्तिमा पारदर्शिता कायम गर्न तथा गुणस्तरहीन चल्ला बिक्री गर्ने ह्याचरीमाथि नियमित अनुगमन र कारबाही गर्नुपर्ने उनीहरूको भनाइ छ।

त्यस्तै, दाना उद्योगबाट गुणस्तरीय दाना उपलब्ध गराउनुपर्ने, दानाको गुणस्तरमा समस्या देखिए किसानको गुनासो तत्काल सम्बोधन गर्ने प्रभावकारी संयन्त्र निर्माण गर्नुपर्ने माग पनि प्रदर्शनमा उठाइएको छ।

पोल्ट्री व्यवसायमा किसानले गरेको ठूलो लगानी जोखिममा परेको भन्दै किसानहरूले आफ्नो लगानी सुरक्षित हुने दीर्घकालीन नीति ल्याउन सरकारसँग आग्रह गरेका छन्।

विशेषगरी भारतीय कुखुरा तथा चल्लाको अवैध आयात नियन्त्रण गर्न सीमा नाकामा प्रभावकारी निगरानी बढाउनुपर्ने किसानहरूको माग छ। अवैध आयात नरोकिएसम्म नेपाली पोल्ट्री किसानले उत्पादन लागतअनुसारको मूल्य पाउन नसक्ने उनीहरूको तर्क छ।

किसानका मुख्य माग

  • भारतीय कुखुरा तथा चल्लाको अवैध तस्करी तत्काल रोक्नुपर्ने।
  • किसानको उत्पादन लागतका आधारमा कुखुराको मूल्य निर्धारण गर्नुपर्ने।
  • किसानका लागि न्यूनतम समर्थन मूल्य कायम गर्नुपर्ने।
  • मूल्य निर्धारणमा किसानको सहभागिता सुनिश्चित गर्नुपर्ने।
  • बिचौलियाको प्रभाव नियन्त्रण गर्नुपर्ने।
  • चल्लाको मूल्य, गुणस्तर र आपूर्तिमा पारदर्शिता कायम गर्नुपर्ने।
  • गुणस्तरहीन चल्ला बिक्री गर्ने ह्याचरीमाथि अनुगमन तथा कारबाही गर्नुपर्ने।
  • गुणस्तरीय दाना उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने।
  • नेपाली पोल्ट्री किसानको लगानी संरक्षण हुने नीति ल्याउनुपर्ने।
  • सीमा नाकामा निगरानी बढाई अवैध कुखुरा तथा चल्लाको आयात नियन्त्रण गर्नुपर्ने।

किसानहरूले आफ्ना माग तत्काल सम्बोधन नगरे आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत दिएका छन्।


प्रतिक्रिया