काठमाडौं भदौ १९ । नेपाली पोल्ट्री व्यवसाय संरक्षण र किसानको लगानी सुरक्षित गर्न माग गर्दै जिल्ला कुखुरा व्यवसायी संघ, रौतहटले आमरण अनशन सुरु गर्ने घोषणा गरेको छ। संघले सीमाबाट हुने भारतीय कुखुरा, चल्ला तथा मासुको अवैध तस्करी नियन्त्रणदेखि स्थानीय उत्पादनको संरक्षणसम्मका माग अघि सारेको हो।
संघका अनुसार २०८३ साल भदौ ११ गतेदेखि जिल्ला प्रशासन कार्यालय, रौतहट अगाडि बिहान ११ बजेदेखि ऐतिहासिक शान्तिपूर्ण आमरण अनशन कार्यक्रम सञ्चालन गरिनेछ।
व्यवसायीहरूले सीमा नाकाबाट अवैधानिक रूपमा भइरहेको भारतीय कुखुरा, चल्ला र मासुको तस्करी पूर्ण रूपमा बन्द गर्न तथा तस्करीमा संलग्न दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन्।
त्यस्तै, स्थानीय बजारमा कुखुराको मासुको मूल्य निर्धारणमा देखिएको अनियमितता र बिचौलियाको मनोमानी अन्त्य गरी वैज्ञानिक तथा न्यायोचित बजार मूल्य कायम गर्नुपर्ने उनीहरूको माग छ।
संघले जिल्लाभित्रै पर्याप्त कुखुरा उत्पादन तथा आपूर्ति भइरहेको अवस्थामा बाहिरबाट कुखुरा आयात गर्दा स्थानीय किसान तथा व्यवसायी प्रभावित हुने जनाएको छ। त्यसैले जिल्ला कुखुरा व्यवसायी संघ, रौतहटको सिफारिसमा मात्र जिल्लामा कुखुराको आयात–निर्यात गर्ने व्यवस्था लागू गर्न माग गरिएको छ।
संघले पोल्ट्री व्यवसायलाई मुलुकको कृषि अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा संरक्षण गर्न सरकार गम्भीर हुनुपर्ने जनाएको छ।
आयोजकले ‘किसान बचे देश बच्छ, किसान मरे देश डुब्छ’ भन्ने नारासहित आन्दोलनलाई शान्तिपूर्ण रूपमा अघि बढाउने जनाएको छ।
मुख्य मागहरू:
- भारतीय कुखुरा, चल्ला र मासुको अवैध तस्करी पूर्ण रूपमा बन्द गर्नुपर्ने
- तस्करीमा संलग्नलाई कडा कानुनी कारबाही गर्नुपर्ने
- बिचौलियाको मनोमानी अन्त्य गरी वैज्ञानिक मूल्य निर्धारण गर्नुपर्ने
- स्थानीय पोल्ट्री उत्पादनको संरक्षण गर्नुपर्ने
- जिल्ला कुखुरा व्यवसायी संघको सिफारिसमा मात्र कुखुरा आयात–निर्यातको व्यवस्था गर्नुपर्ने