काठमाडौं । हालै देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ग्लोबल एग्रो ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १२ लाख २२ हजार २२१ सहयोग गरेको छ।
ग्रुपले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको जनाएको छ। विपद्बाट प्रभावित नागरिकको तत्कालीन राहत तथा दीर्घकालीन पुनर्स्थापनामा सहयोग पुग्ने उद्देश्यले आर्थिक सहयोग गरिएको ग्रुपको भनाइ छ।
लाङटाङ हिमश्रृंखलामा आएको हिमपहिरोपछि भोटेकोसी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएकोप्रति ग्लोबल एग्रो ग्रुपले गहिरो दुःख व्यक्त गरेको छ।
ग्रुपले विपद्मा परी ज्यान गुमाउने सम्पूर्ण मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, मृतकका परिवार, शोकाकुल आफन्त तथा बाढीपहिरोबाट प्रभावित समुदायप्रति गहिरो समवेदना प्रकट गरेको छ।
विपद्को समयमा प्रभावित समुदायसँग ऐक्यबद्धता जनाउँदै राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका कार्यमा निजी क्षेत्रको समेत महत्वपूर्ण भूमिका रहने ग्रुपले जनाएको छ।
ग्लोबल एग्रो ग्रुपले आफ्नो सहयोगलाई ‘विपद्मा साथ, पुनर्निर्माणमा हातेमालो’को भावनाका रूपमा प्रस्तुत गरेको छ।