लेयर्स कुखुरापालक संघद्वारा रवि लामिछानेसँग पोल्ट्री क्षेत्रका समस्या समाधानका लागि छलफल

poultrymanchnepal.com

नेपाल लेयर्स कुखुरापालक संघले २०८३ साउन २९ गते राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् प्रतिनिधि सभा सदस्य माननीय रवि लामिछानेज्यूसँग भेटघाट गरी नेपालको पोल्ट्री क्षेत्रको वर्तमान अवस्था, यसले राज्य तथा अर्थतन्त्रमा पुर्‍याउँदै आएको योगदान र क्षेत्रका प्रमुख समस्याबारे जानकारी गराएको छ।

भेटघाटका क्रममा पोल्ट्री व्यवसाय मुलुकको आत्मनिर्भर व्यवसायका रूपमा स्थापित हुँदै गएको, रोजगारी सिर्जना, खाद्य तथा पोषण सुरक्षामा योगदान पुर्‍याउनुका साथै जैविक मल उत्पादनको समेत प्रशस्त सम्भावना रहेको विषयमा संघले जानकारी गराएको थियो।

संघले पोल्ट्री व्यवसायमा प्रयोग हुने प्रमुख कच्चापदार्थ आयात गर्दा लाग्दै आएको कृषि सुधार शुल्क तथा भन्सार, विद्युत् महसुलमा लाग्ने मूल्य अभिवृद्धि कर, खुला सीमा नाकाबाट हुने अवैध पोल्ट्रीजन्य वस्तुको आयात लगायतका विषयलाई व्यवसायका प्रमुख चुनौतीका रूपमा प्रस्तुत गरेको थियो। विशेषगरी अण्डा, चल्ला, कुखुरा तथा तयारी मासुको अवैध आयातले स्वदेशी पोल्ट्री व्यवसायमा प्रतिकूल असर पारिरहेको भन्दै यसको प्रभावकारी नियन्त्रणका लागि पहल गर्न आग्रह गरिएको थियो।

त्यस्तै, पोल्ट्री व्यवसायलाई बैंकको ब्याजदर तथा विद्युत् महसुलमा छुट तथा सहुलियत उपलब्ध गराउन आवश्यक नीतिगत पहल र सहजीकरण गरिदिन संघले माननीय लामिछानेसमक्ष अनुरोध गरेको थियो।

संघले उठाएका विषयप्रति माननीय रवि लामिछानेज्यू अत्यन्त सकारात्मक देखिनुभएको र पोल्ट्री क्षेत्रका समस्या समाधानका लागि आवश्यक पहल तथा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको संघले जनाएको छ।

भेटघाट कार्यक्रममा प्रतिनिधि सभा सदस्य एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति माननीय हरि ढकालज्यूको समेत उपस्थिति रहेको थियो। संघका तर्फबाट अध्यक्ष श्री विनोद पोखरेल, उपाध्यक्ष श्री ज्योतेन्द्र श्रेष्ठ, श्री अमोद खनाल, महासचिव श्री भेषराज अर्याल तथा सल्लाहकार श्री सुनिल कुमार शाक्यको सहभागिता रहेको थियो।


प्रतिक्रिया