काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले वैद्य होल्डिङ्सले रु. ३८ लाख ४९ हजार ६८४ बराबरको सहयोग गरेको छ ।
वैद्य होल्डिङ्सअन्तर्गत रहेका विभिन्न कम्पनी तथा कर्मचारीहरूको सहभागितामा उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो । विपद्का कारण प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन तथा प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माणमा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको होल्डिङ्सले जनाएको छ ।
वैद्य होल्डिङ्सअन्तर्गतको नेपाल वेलहोप एग्रीटेक प्रा.लि. ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १५ लाख सहयोग गरेको छ । त्यस्तै, दुम्कीबास पोल्ट्री फार्म प्रा.लि. ले रु. १० लाख नगद सहयोग गरेको छ ।
यसैगरी, वैद्य होल्डिङ्सअन्तर्गत कार्यरत सम्पूर्ण कर्मचारीका तर्फबाट आफ्नो एक दिनको तलब बराबर रु. १ लाख ८८ हजार ३८४ नगद सहयोग गरिएको हो । साथै, विजय मोटर्स प्रा.लि. ले रु. ११ लाख ६१ हजार ३८४ बराबरको जिन्सी सामग्री सहयोग गरेको हो ।
होल्डिङ्सले विपद्को समयमा राज्य तथा प्रभावित नागरिकसँग निजी क्षेत्रको सामाजिक उत्तरदायित्व जोडिनुपर्ने बताउँदै राहत तथा पुनःस्थापनाका लागि आफ्नो तर्फबाट सहयोग गरेको जनाएको छ ।
कृषि तथा पशुपन्छी क्षेत्रमा वैद्य होल्डिङ्सको योगदान
कृषि, पशुपन्छी तथा मत्स्य क्षेत्रमा समेत सक्रिय वैद्य होल्डिङ्सअन्तर्गतका विभिन्न कम्पनीहरूले उत्पादन, ह्याचरी, पोषण तथा पशुपन्छी स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएका छन् ।
नवलपरासीमा अवस्थित दुम्कीबास पोल्ट्री फार्मले बोभन्स ब्राउन जातका लेयर्स कुखुराबाट दैनिक करिब २ लाख गोटा अण्डा उत्पादन गर्दै आएको छ । व्यावसायिक अण्डा उत्पादनका साथै फार्मले आधुनिक प्रविधि तथा व्यवस्थापन प्रणालीलाई प्राथमिकतामा राख्दै आएको कम्पनीले जनाएको छ ।
त्यस्तै, नवलपरासीमै रहेको तीन पिप्ले बंगुर फार्मले नेपालमै पहिलोपटक वातावरण नियन्त्रित क्लोज्ड हाउस प्रणालीमार्फत बंगुरका पाठापाठी उत्पादन गर्नुका साथै मासु उत्पादनका लागि बंगुर पालन गर्दै आएको छ । आधुनिक प्रविधिको प्रयोगमार्फत बंगुर उत्पादनलाई व्यवस्थित र व्यावसायिक बनाउने उद्देश्यसहित फार्म सञ्चालनमा रहेको बताइएको छ ।
विराटनगरस्थित भिजु पोल्ट्री फार्मबाट गुणस्तरीय कब–५०० जातका बोइलर चल्ला तथा बोभन्स ब्राउन लेयर्स चल्ला उत्पादन हुँदै आएको छ । त्यस्तै, तनहुँमा रहेको थानीमाई पोल्ट्रीले पनि कब–५०० जातका बोइलर चल्ला उत्पादन गर्दै आएको छ ।
स्वदेशमै गुणस्तरीय प्यारेन्ट चल्ला उत्पादन
वैद्य होल्डिङ्सअन्तर्गत धनकुटामा रहेको भिजु ब्रिडर्सले गुणस्तरीय कब–५०० प्यारेन्ट चल्ला उत्पादन गर्दै आएको छ । कम्पनीका अनुसार एक दिने कब–५०० प्यारेन्ट चल्लाको स्वदेशमै उत्पादनमार्फत देशमा बढ्दै गएको मागलाई सम्बोधन गर्ने प्रयास भइरहेको छ ।
स्वदेशमै प्यारेन्ट चल्ला उत्पादन हुन थालेपछि ह्याचरी सञ्चालकहरूले विदेशबाट महँगो मूल्यमा चल्ला खरिद गर्नुपर्ने बाध्यता न्यूनीकरण हुने तथा देशमै स्वस्थ र गुणस्तरीय चल्ला उपलब्ध गराउन सहयोग पुग्ने कम्पनीको भनाइ छ ।
माछा उत्पादनदेखि पशुपन्छी स्वास्थ्य सामग्रीसम्म
विराटनगरमै रहेको एग्री ब्रिडर्समार्फत रोहु, सिल्भर कार्प, ग्रास कार्प, नैनीलगायत विभिन्न जातका माछा उत्पादन तथा भुरा उत्पादन गरी बजारीकरण गर्दै आएको छ ।
त्यस्तै, चितवनस्थित एग्री न्युट्रिसनमार्फत कुखुराका लागि आवश्यक विभिन्न भ्याक्सिन, सप्लिमेन्ट तथा औषधिका साथै फार्ममा प्रयोग हुने प्रभावकारी डिसइन्फेक्टेन्टहरू आयात तथा आपूर्ति गर्दै आएको कम्पनीले जनाएको छ ।
कृषि तथा पशुपन्छी क्षेत्रमा उत्पादनदेखि ह्याचरी, अण्डा, बंगुर, माछा, पशुपन्छी स्वास्थ्य तथा फार्म व्यवस्थापनमा आवश्यक सामग्रीसम्मको क्षेत्रमा लगानी गर्दै आएको वैद्य होल्डिङ्सले विपद्को समयमा सामाजिक उत्तरदायित्वअन्तर्गत राहत तथा पुनःस्थापनाका लागि समेत सहयोगलाई निरन्तरता दिएको हो ।
विपद्बाट प्रभावित नागरिकको तत्कालीन राहतसँगै दीर्घकालीन पुनःस्थापनाका लागि सरकार, निजी क्षेत्र तथा विभिन्न संघसंस्थाबीच सहकार्य आवश्यक रहेको भन्दै होल्डिङ्सले आफ्नो क्षमताअनुसार सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई अघि बढाउँदै आएको जनाएको छ ।