रौतहट, १८ भदौ । भारतीय कुखुरा, चल्ला तथा मासुको अवैध तस्करी नियन्त्रण र स्थानीय बजारमा भइरहेको मूल्य अनियमितता अन्त्य गर्न माग गर्दै जिल्ला कुखुरा व्यवसायी किसान संघ रौतहटले आमरण अनसन बस्ने घोषणा गरेको छ।
संघका सचिव राधेश्याम साहले जारी गरेको विज्ञप्तिअनुसार भदौ १९ गते शुक्रबार बिहान ११ बजेदेखि जिल्ला प्रशासन कार्यालय रौतहटको गेट अगाडि आमरण अनसन (भोक हडताल) बस्ने कार्यक्रम तय गरिएको हो।
संघले खुला सीमाको फाइदा उठाउँदै भारतबाट दैनिक रूपमा भइरहेको कुखुरा, चल्ला र मासुको अवैध तस्करीका कारण नेपाली किसानको ठूलो लगानी जोखिममा परेको जनाएको छ। अवैध आयातका कारण स्वदेशी उत्पादनले बजार नपाउने र किसानले लागतअनुसारको मूल्यसमेत प्राप्त गर्न नसक्ने अवस्था सिर्जना भएको संघको दाबी छ।
त्यस्तै, स्थानीय बजारमा बिचौलिया तथा केही व्यवसायीको मनोमानीका कारण मासुको मूल्यमा अनियमितता र कालोबजारी भइरहेको आरोप संघले लगाएको छ। यसबाट किसानसँगै उपभोक्तासमेत प्रभावित भएको संघको भनाइ छ।
संघले अवैध कुखुरा तथा मासुको तस्करी नियन्त्रणका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित सरकारी निकायमा पटक–पटक लिखित तथा मौखिक रूपमा जानकारी गराउँदै ज्ञापनपत्रसमेत बुझाएको जनाएको छ। तर, आफूहरूको मागप्रति प्रशासनले पर्याप्त ध्यान नदिएको भन्दै आन्दोलनमा जान बाध्य भएको विज्ञप्तिमा उल्लेख छ।
संघले सीमा नाकाबाट भइरहेको भारतीय कुखुरा, चल्ला र मासुको अवैध तस्करी पूर्ण रूपमा रोक्न तथा दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेको छ।
त्यसैगरी, स्थानीय बजारमा मासुको मूल्यमा भइरहेको अनियमितता र बिचौलियाको मनोमानी अन्त्य गरी वैज्ञानिक तथा न्यायोचित बजार मूल्य कायम गर्नुपर्ने माग संघको छ।
संघले जिल्लाभित्रै पर्याप्त मात्रामा कुखुरा उत्पादन तथा आपूर्ति भइरहेको अवस्थामा बाहिरबाट कुखुरा आयात गर्दा स्थानीय किसान प्रभावित हुने भन्दै जिल्ला कुखुरा व्यवसायी संघ रौतहटको सिफारिसमा मात्र जिल्लामा कुखुराको आयात–निर्यात गर्ने व्यवस्था मिलाउन माग गरेको छ।
संघले आफ्ना माग सम्बोधन नभएपछि शान्तिपूर्ण तर निर्णायक आन्दोलन गर्न बाध्य भएको जनाएको छ। साथै, आमरण अनसनका क्रममा कुनै अप्रिय घटना वा स्वास्थ्य जोखिम उत्पन्न भए त्यसको सम्पूर्ण जिम्मेवारी स्थानीय प्रशासनले लिनुपर्ने चेतावनीसमेत दिएको छ।
संघले आन्दोलनमा पत्रकार तथा सञ्चारकर्मी, किसान, उपभोक्ता अधिकारकर्मी तथा न्यायप्रेमी आम नागरिकलाई भौतिक उपस्थिति र सूचना सम्प्रेषणमार्फत ऐक्यबद्धता जनाउन अपिल गरेको छ।
राधेश्याम साह
सचिव
जिल्ला कुखुरा व्यवसायी किसान संघ, रौतहट