बर्डफ्लु नियन्त्रणउन्मुख, साउन १ यता नयाँ संक्रमण छैन

poultrymanchnepal.com

काठमाडौं । नेपालमा केही महिनादेखि फैलिएको बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) संक्रमण अहिले नियन्त्रणउन्मुख अवस्थामा पुगेको छ। पशु सेवा विभागका अनुसार साउन १ गतेयता देशभर नयाँ बर्डफ्लु संक्रमण पुष्टि भएको छैन, जसले पोल्ट्री क्षेत्रका किसान र व्यवसायीलाई केही राहत दिएको छ।


विभागका महानिर्देशक उमेश दाहालका अनुसार पछिल्लो पटक काठमाडौं महानगर क्षेत्रअन्तर्गत गोकर्णेश्वर–१, सुन्दरीजल मा संक्रमण पुष्टि भएको थियो। त्यसयता नयाँ संक्रमण नदेखिएको र प्रभावित क्षेत्र वरपरबाट नमुना संकलन गरी निरन्तर परीक्षण भइरहेको उनले जानकारी दिए।


“अहिले अवस्था नियन्त्रणमा छ। संक्रमण देखिएका क्षेत्रका वरपरबाट नमुना ल्याएर परीक्षण गरिरहेका छौं,” दाहालले बताए।


विभागका अनुसार यस वर्ष चैत ४ गते केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट पहिलो पटक संक्रमण पुष्टि भएको थियो। त्यसपछि चैत ६ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रभावित क्षेत्र घोषणा गर्दै नियन्त्रण अभियान सुरु गरेको थियो।


नेपालमा पहिलो पटक मोरङको उर्लाबारी–८सुन्दरहरैँचा–४ मा बर्डफ्लु पुष्टि भएको थियो। संक्रमणले विशेषगरी कमर्सियल लेयर्स फार्मलाई बढी असर गरेको विभागले जनाएको छ। साथै प्यारेन्ट स्टक, कमर्सियल ब्रोइलर, स्थानीय कुखुरा, हाँस, टर्की तथा कालिजमा समेत संक्रमण फैलिएको थियो।


हालसम्म ११ जिल्लामा बर्डफ्लु संक्रमण पुष्टि भएको छ। काठमाडौं उपत्यकाबाहेकका सात जिल्लामा रोग पूर्ण रूपमा नियन्त्रणमा आइसकेको विभागको भनाइ छ।


काठमाडौं उपत्यका र काभ्रेपलाञ्चोकमा भने संक्रमणको प्रभाव बढी देखिएको थियो। विभागका अनुसार यी क्षेत्रमा ११९ स्थानमा संक्रमण पुष्टि भएको थियो। त्यसमध्ये काठमाडौंमा ३२, ललितपुर (सदर चिडियाखानासहित) १५, भक्तपुरमा ४५काभ्रेपलाञ्चोकमा २७ स्थान प्रभावित भएका थिए।


सरकारले संक्रमण नियन्त्रणका लागि संक्रमित पक्षी नष्ट गर्ने, जैविक सुरक्षा (बायोसेक्युरिटी) कडाइ गर्ने, नमुना परीक्षणलाई तीव्र बनाउने तथा प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउने कार्यक्रम सञ्चालन गर्दै आएको छ।


बर्डफ्लुको नयाँ संक्रमण शून्यमा झरेसँगै पोल्ट्री उद्योगमा विस्तारै विश्वास फर्किन थालेको व्यवसायीहरूको अपेक्षा छ। तर विभागले किसानलाई फार्ममा बायोसेक्युरिटीका मापदण्ड कडाइका साथ पालना गर्न र कुनै असामान्य लक्षण देखिए तत्काल जानकारी गराउन आग्रह गरेको छ।


प्रतिक्रिया