पोखरामा ‘राइट टु प्रोटिन रन २०२६’, १० देशका ४,१०६ धावक सहभागी हुँदै

poultrymanchnepal.com

काठमाडौं । प्रोटिन सचेतना, पोषण तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा ‘राइट टु प्रोटिन रन २०२६’ आयोजना हुने भएको छ। नेपाल फिड इन्डस्ट्रिज एसोसिएसन (NFIA) को आयोजनामा तथा यूएस सोयाबिन एक्सपोर्ट काउन्सिल (USSEC) को प्रमुख प्रायोजनमा असोज ३ गते (१९ सेप्टेम्बर २०२६) पोखराको बसुन्धरा पार्कबाट दौड सुरु हुनेछ।

आयोजकका अनुसार नेपालसहित १० देशका ४,१०६ जना सहभागी हुनेछन्। दौडमा हाफ म्याराथन, खुला दौड, कक्षा १२ सम्मका युवा र ह्विलचेयर गरी ८ विधामा प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताका विभिन्न विधामा उत्कृष्ट पाँच धावकलाई पुरस्कार प्रदान गरिनेछ भने कुल रु. १६ लाख नगद पुरस्कारको व्यवस्था गरिएको छ।

दौड बसुन्धरा पार्कबाट हल्लनचोक, खहरे, सेदी, खपौदी, पामे हुँदै लौरुक पुगेर पुनः बसुन्धरा पार्कमै फर्किनेछ।

NFIA का अनुसार नेपालमा प्रतिव्यक्ति दैनिक प्रोटिन उपलब्धता औसतमा करिब ४६ ग्राम रहेको छ। प्रोटिनको महत्त्व तथा अण्डा, मासु, माछा, दूध, सोया, टोफु, पनीर, दाल र गेडागुडीजस्ता स्रोतबारे जनचेतना बढाउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।

यसैबीच, भोटेकोशी बाढीपीडितको पुनर्स्थापनाका लागि NFIA सदस्य उद्योगहरूको तर्फबाट रु. ३ करोड १७ लाख ८४ हजार ७ सय १ सहयोग गरिएको र थप रु. ५० लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको आयोजकले जनाएको छ।

दौडमा सहभागीलाई प्रोटिनयुक्त खाजा उपलब्ध गराइनेछ भने रक्तदान कार्यक्रमसमेत सञ्चालन हुनेछ। सहभागीको सुरक्षाका लागि २०० स्वयंसेवक, १० हाइड्रेसन स्टेसन र ७ एम्बुलेन्स परिचालन गरिनेछ। सबै सहभागीको बीमासमेत गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा नेपाल एथलेटिक्स संघ प्राविधिक सहयोगीका रूपमा रहेको छ भने नेपाल ह्याचरी उद्योग संघ, नेपाल लेयर्स कुखुरा पालक संघ, नेपाल पोल्ट्री महासंघलगायत संघसंस्थाको सहभागिता रहेको छ।

टी–सर्ट तथा किट भाद्र ३१ र असोज १ गते पोखरा इभेन्ट सेन्टरमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म वितरण गरिनेछ।

नारा : “प्रोटिनका लागि दौडौं। स्वास्थ्यका लागि दौडौं। स्वस्थ नेपालका लागि दौडौं।”

प्रतिक्रिया