काठमाडौं ! लेयर्स कुखुरापालक संघले अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यस वर्षको विश्व अण्डा दिवस विभिन्न कार्यक्रम गरी मनाउने भएको छ।
हरेक वर्ष अक्टोबर महिनाको दोस्रो शुक्रबार मनाइने विश्व अण्डा दिवस यस वर्ष असोज २३ गते अर्थात् अक्टोबर ९, २०२६ शुक्रबार मनाइँदैछ। यस वर्षको नारा “Protein that Powers and Protects” (प्रोटिन जसले शक्ति दिन्छ र सुरक्षा गर्छ) रहेको संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले जानकारी दिनुभयो।
सन् १९९६ मा अस्ट्रियाको भियनाबाट सुरु भएको विश्व अण्डा दिवसले यस वर्ष ३० वर्ष पूरा गर्दैछ।
विद्यालयदेखि एग वाकसम्म कार्यक्रम
अण्डाको पोषण, स्वास्थ्यमा यसको भूमिका र सन्तुलित आहारमा यसको महत्वबारे जानकारी गराउन देशभरका विभिन्न विद्यालयमा कार्यक्रम सञ्चालन गरिने संघले जनाएको छ। दिवसको एक साताअघिदेखि नै विद्यालयमा विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको अध्यक्ष पोखरेलले बताउनुभयो।
चितवनमा नेपाल लेयर्स कुखुरापालक संघको मूल आयोजनामा अमेरिकी सोयाबिन एक्सपोर्ट काउन्सिल (USSEC) को सहयोग तथा सरकारी र निजी क्षेत्रको सहकार्यमा विशेष कार्यक्रम आयोजना हुनेछ।
असोज २३ गते बिहान ७ बजे उद्योग संघ चितवनको परिसरबाट नारायणगढको शहीद चोकसम्म ‘एग वाक’ आयोजना गरिनेछ। एग वाकमार्फत अण्डाको पोषण, स्वास्थ्यमा यसको सकारात्मक प्रभाव तथा दैनिक आहारमा यसको महत्वबारे जनचेतना फैलाइने संघले जनाएको छ।
सोही दिन सरोकारवालाको सहभागितामा प्यानल डिस्कसन समेत आयोजना हुनेछ। कार्यक्रममा अण्डा उत्पादन, पोषण, स्वास्थ्य, उपभोग, बजार तथा नेपाली समाजमा अण्डाको महत्वलगायत विषयमा छलफल गरिनेछ।
अण्डा प्रोटिनसँगै विभिन्न पोषक तत्वको स्रोत
अध्यक्ष पोखरेलका अनुसार अण्डा उच्च गुणस्तरको प्रोटिनको सहज तथा तुलनात्मक रूपमा सुलभ स्रोत हो। उहाँले चिकित्सक तथा पोषण विज्ञलाई उद्धृत गर्दै एउटा अण्डामा करिब ६ ग्राम प्रोटिनसँगै भिटामिन ए, बी समूह, डी, ई, फोलेट, फस्फोरस, सेलेनियम र जिंक लगायतका विभिन्न पोषक तत्व पाइने बताउनुभयो।
अण्डामा पाइने प्रोटिनले शरीरका तन्तु तथा मांसपेशीको निर्माण र मर्मतमा सहयोग गर्नुका साथै बालबालिकाको शारीरिक विकासमा भूमिका खेल्ने बताइएको छ। त्यस्तै, अण्डामा पाइने कोलिन मस्तिष्कको विकास तथा स्नायु प्रणालीको सामान्य कार्यका लागि आवश्यक मानिन्छ।
अण्डाको पहेँलो भागमा पाइने ल्युटिन र जेक्स्यान्थिन आँखाको स्वास्थ्यसँग सम्बन्धित पोषक तत्व हुन्। अण्डामा पाइने ओमेगा–३ लगायतका पोषक तत्वले पनि मुटु, मस्तिष्क तथा आँखाको स्वास्थ्यमा भूमिका खेल्ने संघले जनाएको छ।
प्रोटिनयुक्त भएकाले अण्डाको सेवनले लामो समयसम्म पेट भरिएको महसुस गराउन सहयोग गर्न सक्ने भएकाले सन्तुलित आहारको हिस्साका रूपमा सेवन गर्दा तौल व्यवस्थापनमा समेत सहयोग पुग्न सक्ने संघको भनाइ छ।
सन्तुलित आहारमा अण्डाको सेवनमा जोड
अण्डामा कोलेस्ट्रोल पाइने भए पनि यसको प्रभाव सबै व्यक्तिमा समान नहुने विज्ञहरूको भनाइ उद्धृत गर्दै संघले जनाएको छ। व्यक्तिको स्वास्थ्य अवस्था, खानपान तथा जीवनशैलीअनुसार प्रभाव फरक पर्न सक्ने भएकाले अण्डालाई सन्तुलित तथा विविधतायुक्त आहारको हिस्साका रूपमा सेवन गर्नुपर्नेमा जोड दिइएको छ।
अध्यक्ष पोखरेलले विश्व अण्डा दिवसले अण्डाको पोषणसम्बन्धी सही जानकारी आम नागरिकसम्म पुर्याउँदै स्वस्थ तथा सन्तुलित आहारको प्रवद्र्धनमा योगदान पुर्याउने अपेक्षा व्यक्त गर्नुभयो। उहाँले सरकारी निकाय, स्वास्थ्य तथा पोषण क्षेत्रका विज्ञ, व्यवसायी, किसान, सञ्चारकर्मी, विद्यार्थी तथा उपभोक्तालगायत सबै सरोकारवालालाई कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभएको छ।