काठमाडौं, भदौ १६ । पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहबीच समन्वय तथा सहकार्य बढाउने विषयमा छलफल भएको छ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिवको अध्यक्षतामा बुधबार बसेको बैठकमा प्रदेश सचिव, सहसचिव, पशु सेवा विभागका महानिर्देशक तथा विभिन्न विज्ञहरूको सहभागिता रहेको थियो।
बैठकमा मासु जाँच ऐन कार्यान्वयनका क्रममा संघ तथा प्रदेशबाट भइरहेका कामको समीक्षा गर्दै आगामी कार्ययोजनालाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा छलफल गरिएको थियो।
मन्त्रालयका सचिवले उपभोक्तालाई स्वच्छ, सुरक्षित तथा गुणस्तरीय मासु उपलब्ध गराउने उद्देश्यले ऐन कार्यान्वयनलाई प्रभावकारी बनाउन स्थानीय तहसँग आवश्यक समन्वय, सहकार्य र सहजीकरण गर्न प्रदेश सचिव तथा सम्बन्धित सरोकारवाला निकायलाई आग्रह गर्नुभएको छ।
बैठकमा प्रदेशका सचिव तथा सम्बन्धित मन्त्रालयका प्रतिनिधिहरूले ऐनको पूर्ण कार्यान्वयनका लागि आवश्यक पूर्वतयारीका कामहरू भइरहेको जानकारी गराएका थिए।
पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनसँगै मासुको स्वच्छता तथा गुणस्तर कायम गर्नुका साथै उपभोक्ताको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्ने सरकारको तयारी छ।