काठमाडौं, असोज २० भारतीय सीमा नाकाबाट नेपालमा अवैध रूपमा भित्रिने चल्ला, कुखुरा, मासु तथा अण्डाको आयात नियन्त्रण गर्न नेपाल ह्याचरी उद्योग संघले सीमा क्षेत्रको अनुगमन तथा सुरक्षा निकायसँग भेटघाटलाई तीव्रता दिएको छ।
अवैध आयातका कारण स्वदेशी ह्याचरी उद्योग, पोल्ट्री व्यवसायी तथा किसानहरू प्रभावित भइरहेको भन्दै संघले भारतीय सीमासँग जोडिएका जिल्लाहरूमा अनुगमन गरी सम्बन्धित सुरक्षा निकायलाई अवैध आयात नियन्त्रण तथा संलग्न व्यक्तिमाथि कारबाही गर्न आग्रह गर्दै आएको छ।
यसैक्रममा २०८३ असोज २० गते संघको प्रतिनिधिमण्डलले सशस्त्र प्रहरी बल नेपाल २६ नं. गण, नवलपरासी का प्रहरी उपरीक्षकसँग भेटघाट तथा छलफल गरेको छ।
संघका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेको नेतृत्वमा उपाध्यक्ष ज्ञानबहादुर बिसुराल, कोषाध्यक्ष परशुराम अधिकारी र सदस्य हरिकृष्ण खनाल सम्मिलित प्रतिनिधिमण्डलले सीमा नाकाबाट हुने अवैध आयात नियन्त्रणका लागि प्रभावकारी निगरानी बढाउन तथा संलग्न व्यक्तिमाथि कारबाही गर्न सुरक्षा निकायसँग आग्रह गरेको हो।
भेटघाटका क्रममा सशस्त्र प्रहरी उपरीक्षकले अवैध आयात नियन्त्रणका लागि कुनै कसर बाँकी नराख्ने आश्वासन दिएको संघले जनाएको छ।
संघले स्वदेशी पोल्ट्री उद्योगको संरक्षण, किसानको उत्पादनको बजार सुनिश्चितता तथा पशुपन्छीजन्य रोगको जोखिम न्यूनीकरणका लागि सीमा क्षेत्रमा हुने अवैध आयात नियन्त्रणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएको छ।