काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा नेपाल भेटेरिनरी एशोसिएसनले तेस्रो चरणको राहत तथा पशुपन्छी स्वास्थ्य सहयोग कार्यक्रम सञ्चालन गरेको छ।
एशोसिएसनको ९ सदस्यीय टोलीले २०८३ भदौ २९ देखि ३१ गतेसम्म प्रभावित क्षेत्रमा पुगेर स्थलगत अनुगमनसँगै पशुपन्छीका लागि औषधि, फिड सप्लिमेन्ट तथा आवश्यक उपकरण हस्तान्तरण गरेको हो। टोलीले बाढीबाट भएको पशुधन क्षति, उद्धार तथा उपचारको अवस्था र बाढीपछि फैलिन सक्ने सङ्क्रामक रोगको जोखिमबारे जानकारीसमेत संकलन गरेको जनाएको छ।
केन्द्रीय अध्यक्ष डा. केदार सुवेदीको नेतृत्वमा गएको टोलीले रसुवाको गोसाइँकुण्ड, कालिका, उत्तरगया र नौकुण्ड, धादिङको गल्छी–देवीघाट तथा नुवाकोटको विदुर र बेलकोटगढी क्षेत्रमा अनुगमन तथा सहयोग गरेको थियो। कार्यक्रममा म्याजिक मार्बल फाउन्डेसन नेपालको समेत सहभागिता रहेको थियो।
करिब २ लाख कुखुरा नष्ट
एशोसिएसनले संकलन गरेको प्रारम्भिक विवरणअनुसार रसुवा र नुवाकोट क्षेत्रमा मात्रै करिब ६०० भैँसी, १० हजार सुँगुर/बंगुर तथा करिब २ लाख व्यावसायिक कुखुरा बाढीका कारण नष्ट भएको जनाएको छ।
पशुधनमा भएको ठूलो क्षतिले प्रभावित कृषकको जीविकोपार्जनमा समेत गम्भीर असर परेको एशोसिएसनको भनाइ छ।
बाढी प्रभावित पशु चिकित्सकलाई आर्थिक सहयोग
बाढीका कारण घरबारविहीन भएका एशोसिएसनका सदस्य डा. सुदिप कोइराला र डा. तुल्सिराम गम्पोका परिवारलाई एशोसिएसनका तर्फबाट प्रतिव्यक्ति रु. १ लाख आर्थिक सहयोग प्रदान गरिएको छ।
यस्तै, अध्यक्ष डा. सुवेदीले व्यक्तिगत तर्फबाट दुवै सदस्यलाई प्रतिव्यक्ति रु. १० हजार सहयोग गरेका थिए।
दीर्घकालीन पुनर्स्थापनामा जोड
बाढीले कृषकको प्रमुख आर्थिक आधारका रूपमा रहेको पशुधनमा ठूलो क्षति पुर्याएकाले तत्कालीन राहतसँगै पशुधन पुनर्स्थापना, रोग नियन्त्रण, पशु स्वास्थ्य सुरक्षा र जीविकोपार्जन पुनर्स्थापनाका दीर्घकालीन कार्यक्रम आवश्यक रहेको अध्यक्ष डा. सुवेदीले बताए।
बाढीपछि पशुपन्छीमा सङ्क्रामक रोग फैलिन सक्ने जोखिम रहेकाले प्रभावित क्षेत्रमा नियमित स्वास्थ्य निगरानी, उपचार तथा रोग नियन्त्रणका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।
एशोसिएसनले बाढीको सुरुदेखि नै कान्तिपुर भेट डिष्ट्रिब्युटर्स, कान्तिपुर फार्मास्युटिकल्स, तिलिचो ट्रेडिङ, सेफ भेट फार्मा, बीएमबी भेटेरिनरी हस्पिटल तथा म्याजिक मार्बल फाउन्डेसन नेपालसँगको सहकार्यमा प्रभावित क्षेत्रमा राहत, पशु स्वास्थ्य सेवा र आवश्यक सामग्री सहयोग गर्दै आएको जनाएको छ।
एशोसिएसनले उद्धार, उपचार तथा राहतमा खटिएका पशु चिकित्सक, पशु स्वास्थ्य प्राविधिक, स्थानीय तह, संघसंस्था तथा स्वयंसेवकप्रति धन्यवादसमेत व्यक्त गरेको छ।