काठमाडौं ! काठमाडौं उपत्यकामा पशु बधशाला तथा मासु जाँचसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनका लागि २२७ जना मासु निरीक्षक तोक्ने निर्णय गरिएको छ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट उपत्यकाका विभिन्न स्थानीय तहमा मासु निरीक्षणका लागि आवश्यक जनशक्ति परिचालन गर्ने व्यवस्था गरिएको हो।
मासुको स्वच्छता, गुणस्तर तथा उपभोक्ताको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै पशु बधशाला तथा मासु जाँच ऐन, २०५५ को प्रभावकारी कार्यान्वयनका लागि निरीक्षक परिचालन गर्न लागिएको मन्त्रालयले जनाएको छ।
नियुक्त निरीक्षकहरूले स्वस्थ तथा गुणस्तरीय मासुको सुनिश्चितता, अस्वस्थ मासुको कारोबार नियन्त्रण तथा मासुजन्य पदार्थको उत्पादन, बिक्री र वितरणलाई व्यवस्थित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन्।
यस निर्णयसँगै काठमाडौं उपत्यकामा मासु पसल तथा बिक्री वितरण केन्द्रको निरीक्षण, मासुको गुणस्तर परीक्षण र कानुनी मापदण्डको पालना गराउने कार्य थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।