ललितपुर। पशु सेवा विभागले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा फैलिएको बर्डफ्लु नियन्त्रणका लागि प्राविधिक टोली परिचालन गर्दै निगरानी र नमूना परीक्षणलाई तीव्र बनाएको छ।
विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार पछिल्लो करिब ३ महिनायता बर्डफ्लु संक्रमण ११ जिल्लामा फैलिएको छ। हालसम्म करिब १०० वटा कुखुरा फार्ममा संक्रमण पुष्टि भएपछि ती फार्मका कुखुरा, अण्डा र दाना सरकारी मापदण्डअनुसार नष्ट गरिएको छ।
संक्रमणको जोखिम बढी देखिएका काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकमा रोग नियन्त्रणलाई उच्च प्राथमिकता दिइएको छ। काठमाडौं उपत्यकाका चन्द्रागिरि, कीर्तिपुर, टोखा, तारकेश्वर, गोदावरी, चाँगुनारायण र सूर्यविनायक क्षेत्रमा पनि संक्रमण पुष्टि भएको विभागले जनाएको छ।
विभागले प्रभावित फार्महरूमा करिब डेढ महिनासम्म नयाँ चल्ला नराख्न आग्रह गर्दै किसानलाई उच्च जैविक सुरक्षा (Biosecurity) अपनाउन अनुरोध गरेको छ। बर्डफ्लुको प्रभावकारी उपचार वा खोप उपलब्ध नभएकाले संक्रमण पुष्टि भएका पन्छी नष्ट गर्नु नै सबैभन्दा प्रभावकारी नियन्त्रण उपाय रहेको विभागको भनाइ छ।
बर्डफ्लु समन्वयका लागि केन्द्रमा महानिर्देशकको संयोजकत्वमा तथा जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समन्वय समिति गठन गरिएको छ। विभागका सूचना अधिकारी मुकुल उपाध्यायका अनुसार नष्ट गरिएका कुखुरा, अण्डा र दानाको प्रमाणका आधारमा तोकिएको दररेट अनुसार लागत मूल्यको ७५ प्रतिशतसम्म क्षतिपूर्ति किसानलाई उपलब्ध गराइने व्यवस्था रहेको छ।