भोटेकोशी बाढीको कहर : डेढ लाख कुखुरा, १५ हजार बंगुर र ५०० भैंसी बगाएको अनुमान

poultrymanchnepal.com

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको सातौँ दिन नेपाल भेटेरिनरी एसोसिएसनको टोलीले त्रिशूली क्षेत्रका बाढी प्रभावित स्थानमा पुगेर पशुपन्छीको अवस्था तथा क्षतिको स्थलगत निरीक्षण गरेको छ।

टोलीले प्राप्त गरेको प्रारम्भिक जानकारीअनुसार बाढीका कारण उक्त क्षेत्रमा करिब ५०० भैंसी, १० देखि १५ हजार बंगुर र करिब १ लाख ५० हजार व्यावसायिक कुखुरा बगाएको अनुमान गरिएको छ। बाढीको तीव्रता अत्यन्त ठूलो रहेकाले घाइते अवस्थामा पशुपन्छी भेटिनुसमेत निकै दुर्लभ रहेको टोलीले जनाएको छ।

स्थलगत भ्रमणका क्रममा नेपाल भेटेरिनरी एसोसिएसनका सदस्य डा. सुदीप कोइरालाको परिवारलाई अस्थायी आश्रयस्थलमा भेटेर टोलीले सहानुभूति तथा ऐक्यबद्धता व्यक्त गरेको थियो। बाढीका कारण डा. कोइरालाको घर पूर्ण रूपमा क्षतिग्रस्त भएको जनाइएको छ।

बाढी प्रभावित क्षेत्रमा पशुपन्छीको उपचारका लागि तत्काल आवश्यक भेटेरिनरी औषधि उपलब्ध गराउने क्रममा त्रिशूलीपारि औषधि तुइनमार्फत पठाउने व्यवस्था गरिएको थियो। डा. सुजाता अधिकारीले प्राप्त गर्ने गरी पठाइएको औषधि त्रिशूलीस्थित पशु सेवा कार्यालयका प्रमुख डा. निशान्त शर्मा गेलाललाई हस्तान्तरण गरिएको थियो।

त्यसैगरी, बाढी प्रभावित नागरिकका लागि आवश्यक मानवीय राहत सामग्री विदुर नगरपालिकालाई समेत हस्तान्तरण गरिएको टोलीले जनाएको छ।

बाढीबाट मानव जीवनसँगै पशुपन्छी तथा पशुपालक किसानको जीविकोपार्जनमा समेत ठूलो क्षति पुगेको छ। प्रभावित क्षेत्रमा तत्काल राहतसँगै पशु स्वास्थ्य सेवा, औषधि तथा खोप, सुरक्षित पशु व्यवस्थापन र किसानको जीविकोपार्जन पुनःस्थापनाका लागि दीर्घकालीन कार्यक्रम आवश्यक देखिएको टोलीको भनाइ छ।

आवश्यक भेटेरिनरी औषधि उपलब्ध गराउन सहयोग गर्ने Kantipur Vet Distributors, Kantipur Pharmaceuticals Ltd. र Tilicho Trading Pvt. Ltd. तथा मानवीय राहत तथा सहयोगका लागि Magic Marble Foundation Nepal प्रति टोलीले विशेष धन्यवाद व्यक्त गरेको छ।

बाढीपछि प्रभावित क्षेत्रमा बाँचेका पशुपन्छीमा रोग फैलिन सक्ने जोखिमसमेत रहेकाले नियमित पशु स्वास्थ्य परीक्षण, औषधि तथा खोपको व्यवस्था र प्राविधिक निगरानीलाई प्राथमिकता दिनुपर्ने आवश्यकता देखिएको छ।


प्रतिक्रिया