भारतीय सीमाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रणमा ह्याचरी संघको सक्रियता

poultrymanchnepal.com

काठमाडौं!भारतीय सीमा नाकाका जिल्लाहरूबाट अवैध रूपमा आयात हुने चल्ला, कुखुरा, मासु तथा अण्डा नियन्त्रणका लागि नेपाल ह्याचरी उद्योग संघको नेतृत्वमा सीमा क्षेत्रको अनुगमन तथा सुरक्षा निकायसँगको भेटघाटलाई तीव्रता दिइएको छ।

नवलपरासी र रुपन्देहीबाट सुरु भएको अभियानअन्तर्गत २०८३ असोज २१ गते सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरी, बाँके नेपालगञ्जका प्रमुख एसपी तथा बीओपी खडैचाका प्रमुखसँग भेटघाट गरिएको छ।

संघका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेको नेतृत्वमा उपाध्यक्ष ज्ञानबहादुर बिसुराल, कोषाध्यक्ष परशुराम अधिकारी, सचिव विवेक भट्ट र सदस्य हरिकृष्ण खनाल सम्मिलित प्रतिनिधिमण्डलले सुरक्षा निकायका अधिकारीहरूसँग अवैध आयात नियन्त्रणका विषयमा छलफल गरेको हो।

भेटघाटका क्रममा सशस्त्र प्रहरीका अधिकारीहरूले सीमा क्षेत्रमा हुने अवैध रूपमा आयात नियन्त्रणका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। संघले आजको भेटघाटलाई अवैध आयात नियन्त्रण अभियानका दृष्टिले महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ।

संघका उपाध्यक्ष ज्ञानबहादुर बिसुरालका अनुसार प्रतिनिधिमण्डलले आज दाङ जिल्लाका पोल्ट्री व्यवसायीहरूसँग बैठक गर्नुका साथै कपिलवस्तुमा प्रहरी नायव महानिरीक्षक  (DIG)सँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।

नेपालको पोल्ट्री व्यवसायले सामना गरिरहेको प्रमुख चुनौतीमध्ये भारतीय सीमाबाट हुने अवैध रूपमा चल्ला, कुखुरा, मासु तथा अण्डाको आयात रहेको संघको भनाइ छ। यस्ता वस्तु अवैध रूपमा भित्रिँदा रोग तथा महामारीको जोखिम बढ्नुका साथै स्वदेशी पोल्ट्री व्यवसाय प्रभावित हुने र राज्यको राजस्वसमेत चुहावट हुने व्यवसायीहरूको भनाइ छ।

संघले सीमा क्षेत्रमा सुरक्षा निकायसँगको समन्वयलाई थप प्रभावकारी बनाउँदै अवैध आयात नियन्त्रणका लागि निरन्तर पहल गर्ने जनाएको छ।




प्रतिक्रिया